सडक नै प्रतिक्षालय, सिलिन्डर नै कुर्सी

काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्र परिसरमा सोमबार दिउँसो खाना पकाउने एलपी ग्यास लिनेहरूको लामो लाइन थियो । चर्को गर्मी र तातो घामका बाबजुद रित्तो सिलिन्डर बोकेकाहरूको लामो लाइन थियो । उनीहरूको चिन्ता थियो, साँझ घरको चुह्लो बल्छ कि बल्दैन ? औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वारअगाडि आन्तरिक राजश्व कार्यालय र बैंकका एटीएम बुथ रहेको सडक सोमबार मानिस र ग्यास सिलिन्डरले भरिएको थियो । लामबद्ध उभिएकाहरूसँग नेपाल ग्यास, एसटीलगायत कम्पनीका रित्ता सिलिन्डरहरू थिए । घाम चर्किंदै जाँदा उभिन नसकेपछि उनीहरू आफ्नै रित्तो सिलिन्डरमाथि बसेर पालो कुरिरहेका देखिन्थे ।

कतिपयले छाता ओढेका थिए, कतिपय रूखको छहारी वा पर्खालको ओझेलमा पसिना पुछ्दै पालो पर्खिरहेका थिए । लाइनमा उभिएका एक युवाले भने, बिहानै आएर बसेको हुँ । अफिसमा बिदा लिएँ, तलब काटिन्छ । तर, घरमा तीन दिनदेखि ग्यास सकिएर चाउचाउ र बिस्कुटको भरमा छौँ । ग्यास वितरण केन्द्रमा भीड बढेपछि सुरक्षाकर्मीहरूलाई लाम मिलाउन र व्यवस्थापन गर्न हम्मे परिरहेको थियो । मानिसहरू टोकन र रसिद देखाउन गेटमा झुम्मिएका थिए । कम्पनीका प्रतिनिधिहरू नाम दर्ता गर्दै टोकन बाँड्दै थिए । ग्यास बोकेको ट्रकको क्षमता सीमित थियो । ‘ट्रकको ग्यास सकिएला कि’ भन्ने बेचैनी लाइनमा लागेकाहरूमा देखिन्थ्यो । त्यसैगरी मध्यपुर थिमी क्षयरोग केन्द्रमा पनि भाद्र १९,२० र २१ मा सिलिण्डर लाइनमा राख्न लगाएर उपभोक्तालाई दुःख दिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *