तीन दिनभित्रै चिलिमेमा उद्धार सक्ने तयारी
काठमाडौं ।अधिकतम तीन दिनभित्रै चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार सक्नेगरी काम अघि बढेको छ । पहुँचमार्ग तथा पैदलमार्ग नभएकाले उद्धारमा कठिनाइ भएकाले त्यसको निर्माणका लागि ब्लास्टिङ सामाग्री त्यहाँ पुर्याएको इन्जिनियर समेत रहेका रास्वपाका सांसद श्रीराम न्यौपानेले बताएका छन् । पहिलो, पैदल आवतजावत गर्न सकिने बाटो निर्माण गर्नु आवश्यक रहेको छ, उनले भनेका छन्,यसका लागि ब्लास्टिङ गरी फुट ट्रेल निर्माण गर्न सिफारिस गरिएको थियो। सोहीअनुसार आज त्रिशूली–३ ए जलविद्युत आयोजनाबाट आवश्यक ब्लास्टिङ सामग्रीहरू चिलिमे पुगेको जानकारी प्राप्त भएको छ।” लेदो हटाउने उपकरण भोलि पुग्ने उनको भनाइ छ ।
सुरुङभित्र जमेको लेदो तथा अवरोध हटाउन मड पम्प, वाटर पम्पको प्रयोग आवश्यक देखिएको छ । यसका लागि आवश्यक तयारी पूरा भइसकेको छ र उपकरणहरू भोलि बिहानसम्म घटनास्थलमा पुग्ने जानकारी प्राप्त भएको छ, न्यौपानेको भनाइ छ । भोलिसम्म विद्युत् लाइन समेत पुर्याउने तयारी नेपाल विद्युत् प्राधिकरणबाट भइरहेको छ । नेपाली सेना, भारतीय सेना र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूको समन्वयात्मक प्रयासबाट करिब २५० मिटरमध्ये हालसम्म करिब १०० मिटर क्षेत्रमा पहुँच बनाउने कार्य सम्पन्न भएको उनको दाबी छ । सुरुङ प्रवेशद्वार अगाडि सानो हेलिकप्टर मात्र अवतरण गर्न सक्ने स्थान रहेकोले हाल आवतजावतका लागि हेलिकप्टर नै एकमात्र विकल्प रहेको अवस्था छ । बढीमा तीन दिनभित्र चिलिमेमा उद्धार सक्ने उनले बताएका छन् ।

















