इजरायलले माग्यो ठूलो संख्यामा कामदार, तलब तीन लाख बढी
काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिहरूको स्याहारको लागि एक हजार ४६४ जना सहायक कामदार माग गरिएको छ । वैदेशिक रोजगार विभागले मंगलबार (भदौ २३ गते) एक सूचना प्रकाशित गर्दै जीटूजी प्रक्रियाबाट इजरायलमा कामदार पठाउन उक्त संख्यामा सहायक कामदार माग गरेको हो । विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रको लागि माग गरेकामा एक हजार १३२ महिला र ३३२ जना पुरुष कामदार छन् । विभागका अनुसार सहायक कामदारको मासिक तलब ६ हजार ४४३.८५ एनआईएस (करिब ३ लाख २३ हजार रुपैयाँ) हुनेछ । कामदारले अतिरिक्त समय बाहेक प्रति हप्ता ४२ घण्टा काम गर्नुपर्नेछ । छनौट भई इजरायल जाने कामदारले त्यहाँ पुगेपछि खानाको खर्च आफैँले व्यहोर्नुपर्नेछ ।
आवासको सुविधा भने रोजगारदाताले विदेशी कामदार सम्बन्धी नियमानुसार गर्ने तर सो को खर्च कामदारले व्यहोर्नु पर्नेछ । करार अवधि थप गरिएमा अधिकतम ५ वर्ष हुने सूचनामा उल्लेख छ । इच्छुक २५ वर्ष पूरा भई ४५ वर्ष उमेर ननाघेका व्यक्तिहरूले ३५ दिन भित्र विभागको वेब पोर्टल मार्फत अनलाइन आवेदन दिनुपर्नेछ । आवेदन असोज २६ गतेसम्म दिन पाइने सूचनामा जनाइएको छ । आवेदन दिने व्यक्तिको उचाई कम्तीमा १.५ मिटर र तौल कम्तीमा ४५ किलोग्राम हुनुपर्नेछ । आवेदक कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पुरा गरेको वा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ ।

















