जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी समाज’ले गोल्याण ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अक्षय गोल्याणलाई सम्मान गरेको छ । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा गोल्याणलाई सम्मान गरिएको हो । गृहमन्त्री सुधन गुरुङसहित सहभागी कार्यक्रममा समाजले गोल्याणलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेको छ । अक्षय नेतृत्वको गोल्याण ग्रुपले गोल्याण फाउण्डेशनमार्फत सहिदका सन्तानलाई १२ कक्षासम्मको शैक्षिकवृत्ति र बुवाआमालाई आजीवन स्वास्थ्य बीमा प्रदान गरेको छ । जेनजी आन्दोलनको एक महिनापछि २०८२ असोज २४ मा गोल्याण ग्रुपले शिक्षा र स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम घोषणा गरेको थियो । प्रतिबद्धताअनुसार फाउण्डेशनमार्फत २२ सहिदका ३१ बालबालिकालाई शैक्षिकवृत्ति र २२ सहिदका ४३ आमा–बुबालाई वार्षिक १० लाख रुपैयाँको स्वास्थ्य बिमा प्रदान गरिएको छ । शैक्षिकवृत्ति कक्षा १२ सम्म र स्वास्थ्यबिमा आजीवन रहेको छ । फाउण्डेशनले शैक्षिकवृत्ति र स्वास्थ्य बिमा कार्यक्रमको लागि वार्षिक करिब साढे २ करोड रुपैयाँ विनियोजन गर्दै आएको छ ।

कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष तथा प्रबन्ध निर्देशक गोल्याणले सहिद परिवारमा समर्पित शिक्षा र स्वास्थ्यको बचन कुनै एक वर्ष वा कार्यक्रमको लागि नभई सधैँको लागि भएको बताए । “यो बचन आज गरेर भोलि बिर्सिने बचन होइन,” उनले भने, “सहिदहरुको सम्मानमा उहाँहरूको सन्तान र बुबाआमाको सुरक्षित भविष्यको लागि निरन्तर रहन्छ । जेनजी आन्दोलनपछि सहिद परिवार र सहिदका सन्तानहरू अध्ययन गर्ने विद्यायको भ्रमणपछि सहिद परिवारको सुरक्षित भविष्यको लागि आफूलाई कर्तव्यबोध भएको छ ।”गोल्याण फाउण्डेशनले शैक्षिकवृत्ति योजनाअन्तर्गत प्रतिविद्यार्थी मासिक ४० हजारको दरले वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँ प्रदान गरिरहेको छ । शैक्षिकवृत्ति सम्झौतापछि बालबालिकाहरु काठमाडौंको यूरो स्कुल, त्रिज्योति सेकेन्डरी स्कुल, गोल्डेन पिक स्कुल, ललितपुरको डि ए भि सुशील केडिया विश्वभारती स्कुल, झापाको ग्रिन फिल्ड वल्र्ड स्कुल, चितवनको स्मल हेभन मोडेल स्कुल, पोखराको अर्ली चाइल्डहुड एकेडेमी, बुटवलको स्कलर्स होम बोर्डिङ हाइस्कुल, सुनसरीको मिनील्याण्ड सेकेण्डरी स्कुल, लहानको स्कुल अफ स्कलर्स लगायतमा अध्ययन गरिरहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *