एकीकृत फ्रेण्डसिप साकोसद्वारा १ लाख ५५ हजार १४१ रुपैयाँ सहयोग

दोलखा । जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले बाढी पीडितको राहत तथा पुनःस्थापनाको लागि सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत १ लाख ५५ हजार १ सय ४१ रुपैयाँ सहयोग गरेको छ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संस्थाले आर्थिक सहयोग गरेको हो । संस्थाको सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको एक एकवटा बैठक भत्ता, कर्मचारीहरुको एक दिनको तलब र बाँकी संस्थाको योगदान गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार सहयोग गरेको एकीकृत फ्रेण्डसिप साकोसले जनाएको छ ।

समुदायमा आधारित एवम् सदस्य केन्द्रित एकीकृत फ्रेण्डसिप साकोसले संकटको घडीमा सहकारीले सामाजिक दायित्व बहन गर्दै हातेमालो गरेको जनाएको छ । विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको संस्थाले जनाएको छ । विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाले उल्लेख गरेको छ । संस्थाले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। यसैगरी, साकोसले यस दुःखद् र कठिन घडीमा आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत कोषमा सहयोग गर्न सबै सदस्यहरुमा अनुरोध गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *