ब्रिक्समा संयुक्त घोषणा, विश्वव्यापारको निर्बाध सञ्चालनमा सहकार्य

काठमाडौं । ब्रिक्स राष्ट्रले विश्व व्यापार तथा आपूर्ति श्रृंखलाको निर्बाध सञ्चालनमा संयुक्त सहकार्य गर्ने घोषणा गरेका छन् । भारतमा आयोजित सम्मेलनमा ब्रिक्सका शिखर नेताहरूले सर्वसम्मत रूपमा उक्त घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स राष्ट्र विश्व व्यापारको निर्बाध सञ्चालनको पक्षमा एकमत रहेको उल्लेख गरे । इरान,अमेरिका युद्धका कारण आपूर्ति श्रृंखलामा सिर्जना भइरहेको अवरोध र रुस,युक्रेन युद्धका कारण विश्व व्यापारमा परिरहेको प्रभावको पृष्ठभूमिमा ब्रिक्सका शिखर नेताहरूले निर्बाध व्यापारका लागि सहकार्य गर्ने घोषणा गरेका हुन् । शनिबारदेखि भारतको नयाँ दिल्लीमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, इरानका राष्ट्रपति मसुद पेजिस्कियन लगायतको सहभागितामा दुई दिने सम्मेलन भइरहेको छ । सी सात वर्षपछि नयाँ दिल्ली पुगेका हुन् । सम्मेलनमा सम्बोधन गर्दै उनले पश्चिम एसियाको युद्धले विश्वको हित नगर्ने उल्लेख गरेका छन् । मध्यपूर्व तथा गल्फ राष्ट्रमा युद्धका कारण धेरै मानिसहरूको ज्यान गइरहेको छ । यो युद्ध कसैको पनि हितमा छैन, पुटिनको भनाइ उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले भनेको छ । सम्मेलनमा इजिप्टबाट अब्देल फताह अल सीसी उपस्थित छन् ।

इथियोपियबाट अबीइ अहम्मद पुगेका छन् । इन्डोनेसियाबाट प्रबोवो सुवियोन्तो उपस्थित छन् । यूएईले अबुधावीका राजकुमारलाई प्रतिनिधिका रूपमा पठाएको छ । संस्थापक सदस्य ब्राजिलको तर्फबाट विदेशमन्त्री मौरो भियरा उपस्थित छन्। ब्रिक्सका सदस्य राष्ट्र यूएई र इरान इजरायल र अमेरिकाले पश्चिम एसियामा छेडेको युद्धमा विपरीत ध्रुवमा छन् । गत वर्षको सम्मेलनमा पनि ब्रिक्सले इजरायल र अमेरिकाले इरानमा १२ दिनसम्म गरेको हमलाको विरोधमा संयुक्त वक्तव्य निकालेका थिए । यस वर्ष गत मेमा ब्रिक्सका विदेशमन्त्रीहरूको सम्मेलन भएको थियो । उक्त सम्मेलन युद्धबारे मौन रह्यो । ब्रिक्सका अर्थमन्त्री तथा गभर्नरहरूको सम्मेलनले अमेरिकी कर नीति विश्वव्यापार संगठनको नियमविपरीत बताएका थिए । अमेरिकाले ब्रिक्सका विभिन्न राष्ट्रमा कर लगाएको थियो । ब्रिक्सलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका विरोधी संस्थाका रूपमा चित्रण गर्दै आएका छन् । ब्रिक्समाथि हाल व्यापार, वित्त, प्रविधि, ऊर्जा सुरक्षा, जलवायु परिवर्तनका प्रभाव, आपूर्ति श्रृंखलामा सिर्जना भइरहेका चुनौतीका विषय सम्बोधन गर्नुपर्ने जिम्मेवारी छ । विस्तार भएको ब्रिक्सले ग्लोबल साउथका एजेण्डालाई कसरी सशक्त बनाउला भन्ने परीक्षण हाल भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *