कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट दरपिठ
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन र इतर समूहको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिट सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ । अधिवक्ता मनिराम उपाध्यायले रिट दर्ताका लागि सर्वोच्चमा पेस गरेका थिए । उनी कांग्रेसको क्रियाशील सदस्यसमेत हुन् । रिटमाथि सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले सोमबार दरपिठ आदेश गरेका हुन् । नेपाली कांग्रेस संस्थापनले असोज १६ देखि १९ गतेसम्म १५ औँ महाधिवेशन आयोजना गरेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि मंसिर २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने तयारी गरेको छ । कांग्रेसको संस्थापन पक्ष गगन थापा र इतर समूह शेरबहादुर देउवा पक्ष दुवै समूहले महाधिवेशन घोषणा गरेको अवस्थामा दुवैको अधिवेशन कार्यतालिका रोक्न उपाध्यायको माग थियो ।

















