अस्ट्रेलिया जाने नेपाली विद्यार्थीलाई नयाँ चुनौती
काठमाण्डौं । उच्च शिक्षाका लागि अस्ट्रेलिया जाने तयारीमा रहेका नेपाली विद्यार्थीलाई त्यहाँको सरकारले घोषणा गरेको नयाँ आप्रवासन नीतिले प्रत्यक्ष प्रभाव पार्न सक्ने देखिएको छ । विशेषगरी अध्ययनका लागि जाँदा पति,पत्नी, पार्टनर वा सन्तानलाई आश्रितका रूपमा सँगै लैजाने योजनामा नयाँ व्यवस्थाले कडाइ गर्ने भएको हो । अस्ट्रेलियाका गृह मामिला मन्त्री टोनी बर्कले बिहीबार सार्वजनिक गरेको आप्रवासन सुधारमा अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीले परिवारका सदस्यलाई आश्रितका रूपमा ल्याउन पाउने व्यवस्थामा कडाइ गर्ने उल्लेख छ । अस्ट्रेलिया नेपाली विद्यार्थीको प्रमुख अध्ययन गन्तव्य भएकाले यसको प्रभाव नेपाली विद्यार्थी र उनीहरूका परिवारमा समेत पर्नेछ । अहिले निश्चित सर्त पूरा गरेर अन्तर्राष्ट्रिय विद्यार्थीले पति,पत्नी वा पार्टनर तथा १८ वर्षमुनिका आश्रित सन्तानलाई अस्ट्रेलिया लैजान सक्छन्। नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि यो सुविधा अधिकांश विद्यार्थीका लागि सीमित हुने अपेक्षा गरिएको छ । तर पहिले नै परिवारसहित अस्ट्रेलियामा रहेका विद्यार्थीलाई नयाँ व्यवस्थाका कारण परिवारबाट अलग नगरिने बर्कले स्पष्ट पारेका छन् । सरकारले विद्यार्थी भिसा प्रयोग गरेर पटकपटक अर्को अस्थायी भिसामा जाने ‘भिसा हपिङ’ नियन्त्रण गर्ने नीति पनि लिएको छ ।
यसले अध्ययनपछि अर्को भिसामार्फत अस्ट्रेलियामै बसाइ निरन्तर लम्ब्याउने योजनामा रहेका नेपाली विद्यार्थीलाई समेत असर गर्न सक्छ । त्यस्तै, पर्यटक भिसालाई अस्ट्रेलियामा प्रवेश गरेर अर्को भिसामा जाने माध्यमका रूपमा प्रयोग गर्न नदिन नयाँ भिजिटर भिसामा ‘नो फर्दर स्टे’ सर्त विस्तार गर्ने योजना छ । अस्ट्रेलियाले शुद्ध वैदेशिक आप्रवासनलाई आगामी वर्षहरूमा वार्षिक २ लाख २५ हजारमा झार्ने लक्ष्य राखेको छ । यसका लागि विद्यार्थी र अन्य अस्थायी भिसाको दुरुपयोग नियन्त्रणसँगै भिसा अवधि सकिएपछि पनि बसिरहने व्यक्तिमाथि कारबाही कडा बनाइनेछ । अर्कोतर्फ स्वास्थ्य, निर्माण, शिक्षा, कृषि र अन्य आवश्यक क्षेत्रमा सीपयुक्त विदेशी कामदारलाई भने प्राथमिकता दिने सरकारी योजना छ । नयाँ नीति नेपाली विद्यार्थीका लागि विशेष चासोको विषय बने पनि कुन तहको अध्ययन गर्ने विद्यार्थीले परिवार लैजान पाउने, कुन वर्गमा अपवाद रहने र नयाँ व्यवस्था कहिलेदेखि पूर्ण रूपमा लागू हुने भन्ने विस्तृत कार्यान्वयन प्रावधान हेर्न बाँकी छ । त्यसैले अस्ट्रेलिया अध्ययनका लागि परिवारसहित आवेदन गर्ने तयारीमा रहेका नेपाली विद्यार्थीले अन्तिम निर्णयअघि लागू हुने भिसा सर्त हेर्नुपर्नेछ ।

















