१० महाभारत लडेर आएको हुँ, यत्तिकै ढल्दिन, छाड्दिन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवाद र आफूविरुद्ध भइरहेका भनिएका गतिविधिबाट आफू पछि नहट्ने बताएका छन्। उनले एमाले विभाजन गर्ने वा नेतृत्वमा परिवर्तन ल्याउने प्रयास सफल नहुने दाबी गरेका छन्। संविधान दिवसका अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले आफूले पार्टीभित्र लामो समयदेखि विभिन्न चुनौतीको सामना गर्दै आएको उल्लेख गर्दै अहिलेको परिस्थितिले आफूलाई कमजोर नबनाउने बताए। ओलीले आफू एमालेमा करिब छ दशकदेखि रहेको उल्लेख गर्दै पार्टीमाथि विभिन्न दिशाबाट दबाब र हमला भइरहेको तथा नयाँ पार्टी गठन हुन सक्ने हल्ला फैलाइएको बताए। उनले आफूलाई विगतका संघर्षसँग तुलना गर्दै अहिलेको परिस्थितिमा पनि मैदान छाड्ने अवस्था नरहेको संकेत गरे। “केपी ओली मैदानमा छ, अमरसिंह थापा मेरै उमेरमा युद्धको मैदानमा थिए, मैले त तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ । महाभारतको प्रसङ्ग उल्लेख गर्दै ओलीले आफू जटिल परिस्थितिमा सजिलै पराजित हुने अवस्थामा नरहेको बताए। उनले पार्टीभित्रको वर्तमान चुनौतीलाई सामना गरेर अघि बढ्ने संकेत गरेका छन्।

ओलीले पार्टीको अध्यक्ष र महासचिवसमेत बाँडफाँट भइसकेको भन्ने समाचारलाई अस्वीकार गर्दै त्यस्ता विवरण गलत भएको दाबी गरे। उनले असोज ६ र ७ गते बस्ने केन्द्रीय समिति बैठकलाई पार्टीको आगामी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरे। बैठकबाट पार्टी एकता कायम राख्ने र आगामी कार्यदिशासहित अघि बढ्ने उनको भनाइ थियो। “पार्टीको एकता र गर्नुपर्ने कामको संकल्पसहित असोज ६ र ७ गतेको केन्द्रीय समिति बैठकबाट बाहिर निस्कनेछौँ, सबै हल्लाहरू खण्डन हुनेछ,” ओलीले भने। पार्टी फुटाउन चाहनेहरूको प्रयास सफल नहुने दाबी गर्दै उनले एमाले आफ्नै राजनीतिक बाटोमा अघि बढ्ने बताए। त्यस क्रममा ओलीले कुन्ती मुक्तानको गीतसमेत उल्लेख गर्दै आफू लामो राजनीतिक संघर्षपछि वर्तमान अवस्थामा पुगेको धारणा राखे। “एमाले आफ्नो बाटो हिँड्छ, खुट्टा तान्दै गर, म यत्तिकै यहाँ आइपुगेको होइन,” उनले भने। ओलीको पछिल्लो अभिव्यक्ति एमालेभित्र नेतृत्व, संगठनात्मक संरचना र आगामी राजनीतिक दिशालाई लिएर बहस चलिरहेका बेला आएको हो। अब असोज ६ र ७ गते बस्ने केन्द्रीय समिति बैठकले पार्टीभित्रको विवाद र नेतृत्वसम्बन्धी बहसलाई कुन दिशामा लैजान्छ भन्ने विषयलाई राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *