आजदेखि पर्पल रंग मिसिएको १००० दरका नयाँ नोट बजारमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि १ हजार रुपैयाँ दरको नयाँ बैंकनोट (सिरिज २०२५) प्रचलनमा ल्याएको छ । नयाँ नोट साविककै आकारमा रहे पनि यसको रङ संयोजन परिमार्जन गरी पर्पल (बैजनी) रङको घेराभित्र फिक्का हरियो देखिने गरी तयार पारिएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार यो नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ । नयाँ नोट सङ्केत नम्बर ट/९२ ०००००१ देखि त/५० ९९९९९९ सम्म जारी गरिएको छ ।
कस्तो छ नयाँ नोट ? यस्ता छन् विशेषताहरू
नयाँ नोटको मध्य भागमा नेपाल राष्ट्र बैंकको परम्परागत प्रतिज्ञामूलक भुक्तानी वाक्यांश उल्लेख गरिएको छ । नोटको बायाँतर्फ सर्वोच्च शिखर सगरमाथाको मनमोहक चित्र अंकित छ भने दायाँतर्फ राष्ट्रिय फूल लालीगुराँस र त्यसको मुनि अङ्क ‘१०००’ प्रस्टिने गरी पानीछाप वाटरमार्क राखिएको छ । नोटलाई प्रकाशतर्फ फर्काएर हेर्दा नीलो रङको सी–थ्रु रजिस्टरमा ‘1000’ को पूर्ण आकृति स्पष्ट रूपमा देखिन्छ । नोटको सुरक्षा व्यवस्थालाई थप कडा बनाउन अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । सगरमाथाको दायाँपट्टि रहेको अण्डाकार आकृतिमा भगवतीको चित्र कुँदिएको छ, जुन सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा चम्किलो हरियो रङमा परिवर्तन हुन्छ । त्यसैगरी, नोटमा ३।५ मिलिमिटर चौडाइ भएको विशेष चलायमान सुरक्षण धागो प्रयोग गरिएको छ, जसलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिनुका साथै त्यसमा ‘NRB’ र ‘1000’ अंकित गरिएको छ ।
दृष्टिविहीन नागरिकहरूले छोएरै नोट सजिलै पहिचान गर्न सकून् भन्ने उद्देश्यले नोटको दायाँतर्फको तल्लो भागमा रोमन अक्षर ‘M’ तथा सगरमाथा र पानीछापको दायाँ–बायाँ १०,१० वटा विशेष स्पर्शयोग्य तेर्सा रेखाहरू (एङ्गुलर लाइन्स) राखिएका छन् । नोटमा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको आधिकारिक दस्तखत रहेको छ भने यसको तल्लो भागमा सिरिज नम्बरका रूपमा ‘वि.सं. २०८२’ उल्लेख गरिएको छ । नोटको पछाडिपट्टिको मध्य भागमा चितवनको सरकारी हात्तीसारमा देवकली नामको हात्तीबाट जन्मिएका दुर्लभ जुम्ल्याहा हात्ती ‘राम र लक्ष्मण’ को आकर्षक चित्र समावेश गरिएको छ । चित्रको माथिल्लो भागमा अंग्रेजीमा ‘NEPAL RASTRA BANK’ लेखिएको छ भने पानीछापको दायाँतर्फ नेपालका सातवटै प्रदेशहरूको प्रतिनिधित्व हुने गरी सातवटा लालीगुराँसका फूलहरू सजाइएका छन् । यसैगरी, नोटको दायाँतर्फ अंग्रेजीमा ‘RUPEES ONE THOUSAND’ का साथै ऐतिहासिक हनुमानढोका दरबारस्थित ल्होंचोकमा रहेको पुरातात्विक महत्त्वको थामको आकृति कुँदिएको छ। नोटको तल्लो बोर्डरमा अन्तर्राष्ट्रिय सिरिज जनाउने गरी ‘2025 A.D.’ उल्लेख गरिएको छ ।

















