शुभकामना साकोसको २६औं वार्षिक साभारण सभा, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ सम्मानित
भक्तपुर । सूर्यविनायकमा मुख्य कार्यालय रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २६ औ वार्षिक साभारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको सभापतित्वमा सम्पन्न साधारण सभाको संस्थाकी ८८ बर्षीय जेष्ठ सदस्य मैयाँ सुजखुले उद्घाटन गरेकी थिइन् । सभाले आर्थिक बर्ष २०८२।८३ को वार्षिक प्रगति प्रतविदेन तथा आगामी बर्षको नीति तथा कार्यक्रम,आर्थिक प्रतिवदेन तथा आगामी बर्षको अनुमानित बजेट, आन्तरिक लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ । सभामा अध्यक्ष कासुलाले २०५७ सालमा ७५ जना स्थानीय युवा मिलेर स्थापना भएको संस्थाले हालसम्म आइपुग्दा सहकारी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताए । संस्थाले सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा निरन्तर क्रियाशील रहेको जनाए । उनले विगत केही बर्षदेखि समग्र राष्ट्रिय अर्थतन्त्र र वित्तीय क्षेत्रमा देखिएको विविध उतारचढावका बाबजुद पनि सदस्यहरुको विश्वास र कर्मचारीको लनशीलताले लिएको लक्ष्य प्राप्त गर्न सकेको सभामा बताए । संचालक समितिले सदस्यको बचतको सुरक्षालाई मुख्य ध्यान दिएको र कर्जा लगानी गर्दा प्रयाप्त धितो, परियोजनाको सम्भाव्यता र प्रतिफल दिने क्षेत्रमा मात्र लगानी गदै आएको अध्यक्ष कासुलाले सभामा जानकारी दिए । आगामी बर्षहरुमा संस्थाको सेवालाई अझ आधुनिक र प्रविधिमैत्री बनाई सदस्यहरुलाई मोबाइल बैकिङ्ग तथा अनलाइन भुक्तानी सेवालाई थप प्रभावकारी बनाउने उनको भनाई छ । स्थानीयस्तरमा उद्यमशीलताको प्रवद्र्धन गर्न उत्पादनमूूलक तथा प्रतिफल दिने क्षेत्रमा कर्जा परिचालन गर्ने लक्ष्य लिएको उनले सभामा जनाए । संस्थाले बचत तथा ऋणको परिचालनसँगै सदस्यको हित तथा सामाजिक कार्यमा समेत आफ्नो उपस्थिति जनाउँदै आएको अध्यक्ष कासुलाको भनाई छ । सभामा सचिव पुष्पलाल तिमिलाले आ।व। २०८२।८३ को वार्षिक प्रगति प्रतिवेदन तथा आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले यस आर्थिक बर्षमा ७ प्रतशित सदस्यता वृद्धि गर्ने, सदस्यहरुको आर्थिक सहभागिता वृद्धि गरी संस्थागत दिगोपन विकास गर्ने,जगेडा कोषलाई वृद्धि गर्ने तथा भाखा नाघेको ऋणको लागि पर्याप्त जोखिम कोषको व्यवस्था गर्ने सभामा बताए ।

त्यसैगरी उत्पादनशील क्षेत्रमा ७० प्रतिशत ऋण लगानी गर्ने र ऋण लगानीमा धितो सुरक्षणलाई अनिवार्य गर्ने, समुह बचतमार्फत् लघुऋण परिचालन गर्ने तथा ‘सन्तुष्ट सदस्यः दीगो संस्थ’ भन्ने भावनालई व्यवहारिक रुप दिने उनले जानकारी दिए । सभामा कोषाध्यक्ष धर्मरत्न शाक्यले आर्थिक प्रतिवेदन तथा चालु आ.व.को अनुमानित बजेट प्रस्तुत गरेका थिए । संस्थाले गत असार मसान्तसम्म शेयर पुँजी ११ करोड ९४ लाख ६४ हजार,जगेडा तथा अन्य कोष १७ करोड ७९ लाख ७५ हजार, बचत १ अर्ब ५१ करोड ७२ लाख, ऋण लगानी १ अर्ब १७ करोड ७३ लाख गरी कुल सम्पत्ति १ अर्ब ९५ करोड १८ लाख पुगेको सभामा उनले जानकारी दिए ।

सभाले गत आर्थिक बर्षको नाफाबाट सदस्यहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । संस्थाले व्यापारिक, व्यवसायिक, साना व्यवसायी, हायर पर्चेच, शैक्षिक, कृषि, कर्मचारी, लघुवित, लाइन अफ क्रेडिट, व्यवसाय प्रवद्र्धन, उद्यमी जस्ता क्षेत्रमा ऋण लगानी गर्दै आएको छ । त्यसैगरी संस्थाले ऐच्छिक, दैनिक, गृहिणी, चाडपर्व, जेष्ठ नागरिक, भ्रमण, शिक्षा युवा जस्ता विभिन्न बचत योजना सञ्चालनमा ल्याएको छ । सभामा २० बर्षदेखी संस्थामा कुशलता पुर्वक कार्य गरेकोले प्रमुख कार्यकारी अधिकृत रेश्मी श्रेष्ठ र अरु कर्मचारीहरु पनि सम्मानित भएका थिए । साथै जेष्ठ सदस्य,असल बचतकर्ता,असल ऋणी , विद्यार्थी सम्मान तथा पुरस्कृत गरिएको थियो । साधारण सभामा ७० प्रतिशत सदस्यको उपस्थिति रहेको प्रमुख कार्यकारी अधिकृत रेश्मी श्रेष्ठले जानकारी दिइन् ।

















