नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रिमको साझेदारी
काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ चर्चित खेलाडी एक्सट्रिम इनर्जी ड्रिंकको ब्रान्ड एम्बेसडरका रूपमा आबद्ध भएका छन्। नेपाली क्रिकेटको विकास तथा खेलाडी प्रोत्साहनमा लगानी गर्दै आएको एक्सट्रिमले राष्ट्रिय टोलीका खेलाडीसँग एकसाथ सहकार्य अघि बढाएको हो। काठमाडौंस्थित एभरेष्ट होटलमा आयोजित कार्यक्रममा एक्सट्रिम इनर्जी ड्रिंक र राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडीबीच औपचारिक सम्झौता भएको हो। युवा पुस्तामा खेलकुदप्रतिको उत्साह र ऊर्जा बढाउने उद्देश्यले खेलाडीहरूसँग सहकार्य गरिएको कम्पनीले जनाएको छ। सम्झौताअनुसार रोहित पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, इशान पाण्डे, करण केसी र लोकेश बम टिम एक्सट्रिमका सदस्य बनेका छन्। सम्झौतापछि ती खेलाडीहरूले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रिम इनर्जी ड्रिंकको लोगो राखिनेछ। त्यस्तै, एक्सट्रिमले आयोजना तथा सञ्चालन गर्ने विभिन्न प्रवर्द्धनात्मक, ब्रान्ड तथा खेलकुद गतिविधिमा पनि खेलाडीहरूको सहभागिता रहनेछ।कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशनकुमार सिंहले नेपाली क्रिकेट र खेलाडीप्रति एक्सट्रिमले गरेको लगानीको प्रशंसा गर्दै धन्यवाद दिए। उनले व्यावसायिक साझेदारीले खेलाडीलाई आर्थिक रूपमा सबल बनाउनुका साथै नेपाली क्रिकेटको व्यावसायिक विकासमा समेत सहयोग पुग्ने बताए। एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स ब्रान्ड र यसको मातृ कम्पनी एग्रो थाई फुड्स प्रालिका व्यवस्थापक कृष्ण दाहालले खेल क्षेत्रसँग जोडिन पाउँदा आफूलाई गौरवान्दित भएको बताएका छन्। उनले आगामी दिनमा खेलाडी र कम्पनिविच सहकार्य निरन्तर रहने समेत बताएका छन्।
नेपाली क्रिकेट खेलाडीहरूको बढ्दो लोकप्रियता र युवा पुस्तामाथि उनीहरूको प्रभावलाई ध्यानमा राखेर गरिएको यो सहकार्यले क्रिकेट र ब्रान्डबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा नेपाल प्रिमियर लिग (एनपिएल)लाई लक्षित गर्दै तयार पारिएको एक्सट्रिम इनर्जी ड्रिंकको विशेष संस्करणको क्यानसमेत सार्वजनिक गरिएको छ। एनपिएलमा मुख्य प्रायोजकका रूपमा आबद्ध आफ्ना ७ टोलीको पहिचान झल्कने गरी एक्सट्रिमले ७ फरक डिजाइनका क्यान सार्वजनिक गरेको हो। सम्बन्धित टोलीका जर्सी, लोगो र समर्थकहरूको उत्साहलाई समेटेर तयार पारिएका ती विशेष क्यानमार्फत खेलाडी र समर्थकबीचको सम्बन्धलाई थप नजिक बनाउने कम्पनीको भनाइ छ। विशेष संस्करणको क्यानले एनपीएलको माहोललाई थप रोमाञ्चक बनाउँदै क्रिकेटप्रेमीमाझ आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउने विश्वास पनि कम्पनीले लिएको छ। एक्सट्रिम इनर्जी ड्रिंकले नेपाली युवाको ऊर्जा, उत्साह र खेलप्रतिको जोशसँग आफूलाई जोड्दै आगामी दिनमा क्रिकेटलगायत विभिन्न खेलकुद गतिविधिमा निरन्तर सहकार्य र सहभागिता जनाउने प्रतिबद्धता जनाएको छ।

















