आज देशभर बदली, केही स्थानमा हावाहुरी र असिनासहित भारी वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीसँगै मनसुनी वायुको प्रभावका कारण आज देशभरको मौसम प्रभावित हुने भएको छ। हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा पनि आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा बागमती र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। आज बुधबार हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। हिमाली भूभागका थोरै तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ।

तराई क्षेत्रमा पनि मौसम बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका साथै बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति सुदूरपश्चिमका सबै भूभाग तथा देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। तराईमा आंशिक बदली रहनेछ भने बिहानको समयमा केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्नेछ। हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ भने कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *