पृथ्वी राजमार्ग आज बेलुकासम्म दुईतर्फी नै खोल्ने तयारी
काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५, गलौँदीमा सडक भासिएर पूर्ण रूपमा अवरुद्ध भएको पृथ्वी राजमार्गलाई आज बेलुकादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले थप समस्या नआएमा शनिबार साँझसम्ममा राजमार्ग दुईतर्फी रूपमै सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिइन् । “हिजैदेखि प्राविधिक, प्रहरी र स्थानीय सरकारको समन्वयमा सडक खुलाउने प्रक्रिया सुरु भएको हो, आज बिहानैदेखि काम भइरहेको छ,” उनले भनिन्, “कुनै थप समस्या आएन भने साँझसम्म राजमार्ग दुईतर्फी नै सुचारु हुन्छ ।” राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका साना तथा अत्यावश्यक सवारीसाधन (एम्बुलेन्सलगायत)का निम्ति वैकल्पिक मार्गको व्यवस्था गरिँदै छ । अवरुद्ध सडकभन्दा माथि रहेको साँघुरो कच्ची बाटोलाई स्थानीय सरकारसँगको समन्वयमा मर्मत तथा ग्राभेल गरेर सञ्चालनमा ल्याइने उनको भनाइ छ । दसैँको मुखमा राजमार्ग अवरुद्ध हुँदा हजारौँ यात्रु प्रभावित भएका छन् ।

















