मनकामना बचत तथा ऋण सहकारीको ३१ औं सभा सम्पन्न
बनेपा । मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३१ औं बार्षिक साधाराण सभाको समापन कार्यक्रम केन्द्रीय कार्यालय बनेपामा सम्पन्न गरेको छ । ६ वटा सेवा कार्यालयमा आयोजना गरेको साधारण सभा सम्पन्न पछि केन्द्रिय कार्यालयमा साधारण सभा आयोजना गरिएको हो । सभामा बदलिएको सहकारी नीति, संचालक तथा कर्मचारी सम्वन्धी ब्यवस्था, बचत तथा ऋणको कारोवारका विषय, आम्दानी तथा खर्च सम्वन्धी विविध विषयमा सहकारीले गर्नु पर्ने भुमिका र योजनाका बारेमा छलफल भएको थियो । सभामा अध्यक्ष गोपालप्रसाद घिमिरेले समग्र अवस्था, आगामी योजना र चुनौतीका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार तथा पुर्व अध्यक्ष बालकृष्ण दाहालको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी दाहालले सहकारी क्षेत्रका समस्याहरुलाई मनकामना सहकारीले पनि नजिकबाट नियाल्दै बचतकर्ताहरुको बचत सुरक्षा, लगानी गरिएको ऋण असुली र सदस्यमैत्री कार्यक्रमलाई दिएको प्राथमिकतालाई प्रभावकारी रुपमा लैजान सुझाव दिए । कार्यक्रममा उपाध्यक्ष विदुरप्रसाद घिमिरे, सचिव नवराज आचार्य, कोषाध्यक्ष विकास तिमल्सिना, लेखा सुपरिवेक्षण समितिका संयोजक देवप्रसाद कोईराला, सल्लाहकार राजकुमार हुमागाई, वडा अध्यक्ष बलराम अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, जिल्ला सहकारी संघका कोषाध्यक्ष अर्जुन सापकोटा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका प्रमुख कार्यकारी अधिकृत गुरु ढकाल, विभिन्न सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरु, राष्ट्रिय सहकारी बैकका उपेन्द्र दाहाल लगायतले सहकारीका विषय बस्तु माथी धारणा राखेका थिए ।

सहकारीमा आर्थिक वर्ष २०८२।२०८३ को अन्त्यमा १० हजार ५ सय ४४ शेयर सदस्यबाट १६ करोड २४ लाख १४ हजार ७ सय शेयर पुँजी संकलन भएको प्रमुख कार्यकारी अधिकृत सिताराम तिमल्सिनाले जानकारी दिए । ३२.६७ प्रतिशत तरलता रहेको सहकारीले उक्त आर्थिक वर्षमा १७ करोड संस्थागत पुँजी बनाएको छ । त्यस्तै १ अर्ब ६९ करोड, ९८ लाख ६५ हजार ७ सय १९ रुपयैया ऋण लगानी, १ अर्ब ९२ करोड ९६ लाख ८ हजार २ सय २६ रुपैया बचत गरी २ अर्ब ३० करोड ५२ लाख ९८ हजार ६ सय ४३ रुपैयाको वासलात तयार गरेको प्रमुख कार्यकारी अधिकृत तिमल्सिनाले बताए । सहकारीले वित्तिय साक्षरता, सहकारी शिक्षा, विद्यालय शिक्षा, विभिन्न प्रकारका स्वास्थ्य शिविर, बाल शेयर सदस्य तथा एसईई र कक्षा १२ मा उर्तिण गरेका उत्कृष्ट विद्यार्थी सम्मान, जेष्ठ सदस्य सम्मान सहित तिर्थाटन, सुत्केरी महिलाहरुलाई भेटघाट, रक्तदान लगायतका सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यक्रम संचालन गरिरहेको छ ।

















