पत्रकार नियन्त्रणबारे कुनै जानकारी छैन – प्रधानमन्त्री सचिवालय
काठमाडौं । पत्रकार नियन्त्रणका विषयमा प्रधानमन्त्री बालेन्द्र साहको सचिवालयले आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ । प्रधानमन्त्री बालेनका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले यी घटनाक्रममा प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालयको कुनै संलग्नता नरहेको बताइन् । ‘आज जे–जति घटनाक्रमहरू विकास भएका छन् । यी घटनाक्रमहरूमा सम्माननीय प्रधानमन्त्रीज्यू, सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कुनै पनि संलग्नता छैन,’ दाहालले भनिन्, ‘हामीलाई यसबारे कुनै जानकारी छैन ।’
यता प्रहरीले आज सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर धमाधम पत्रकारहरूलाई नियन्त्रणमा लिइरहेको छ । आजै नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोशाकमा खटिएका प्रहरीहरू पत्रिकाको कार्यालयमै प्रवेश गरेका छन् । उनीहरूले मैनालीलाई नलगी नजाने भन्दै त्यहीँ बसेका छन् ।

















