सरकारसँग कांग्रेसका पाँच असन्तुष्टि
काठमाडौं । नेपाली कांग्रेसले सरकारका काम–कारबाहीप्रति पाँचवटा असन्तुष्टि व्यक्त गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सरकारका काम–कारबाहीप्रति असन्तुष्टि जनाएका हुन् । थापाले सञ्चारगृहमा प्रहरी प्रवेश, पत्रकार पक्राउ, कर्मचारीमाथि धरपकड, छानबिन समितिका प्रतिवेदन सार्वजनिक नगरिएको तथा मुलुकको कमजोर आर्थिक अवस्थाबारे सरकारको आलोचना गरे । जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पाँच वर्ष सरकार सञ्चालन गर्ने जिम्मेवारी दिएको उल्लेख गर्दै सरकारले प्रतिपक्षी भूमिका र जिम्मेवारीलाई सम्मान गर्नुपर्ने उनको भनाइ छ ।
पत्रकार पक्राउको विरोध
कांग्रेस सभापति थापाले सञ्चारमाध्यममा प्रकाशित समाचारका विषयमा पत्रकार पक्राउ गरिएको घटनाको विरोध गरेका छन् । सञ्चारगृहमा प्रहरी प्रवेश गरेको घटनाले पञ्चायती शासनकालको झल्को दिएको उनको टिप्पणी छ । ‘‘मिडिया हाउसहरूमा प्रहरी प्रवेशले पञ्चायती शासनकालको याद दिलाएको छ । विरोध भएपछि पत्रकारहरूलाई छोडिएको हो । विचित्रको विषय बाहिर आएको छ । प्रहरीले घटनाबारे दुईपटक विज्ञप्ति जारी गरेको उल्लेख गर्दै थापाले दुवै विज्ञप्तिको व्यहोरा फरक रहेको बताए । सुरुमा सामान्य विषयमा प्रहरीले आफ्नो काम गरेको भनिए पनि राति जारी गरिएको दोस्रो विज्ञप्तिमा प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० को सचिवालयको दबाबका कारण पत्रकार पक्राउ परेको उल्लेख भएको उनको दाबी छ ।
रास्वपाकै निर्देशन पालनामा अटेर
रास्वपाले दिएको निर्देशनसमेत सरकारले कार्यान्वयन नगरेको आरोप थापाले लगाएका छन् । सञ्चारगृह परिसरमा गरिएको गाडी पार्किङ र आफ्नो घरअगाडि गाडी पार्किङ गरिएको प्रसंग उठाउँदै उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् । सञ्चारगृहका अगाडि गाडी पार्किङ गरियो । मेरो घरअगाडि पनि गाडी पार्किङ गरियो । रास्वपाले छानबिन गर्ने भनेको छ । तर, केही भएको छैन । रास्वपाले निर्देशन दिने, सरकारले फेरि गल्ती गर्ने काम गर्दै आएको छ । सरकारले त्यो विषयमा छानबिन गरेको छैन,ू उनले भने । रास्वपाले छानबिन गर्ने प्रतिबद्धता जनाए पनि सरकारले त्यसअनुसार काम नगरेको उनको भनाइ छ ।
खोइ छानबिन समितिका प्रतिवेदन ?
थापाले रास्वपा नेतृत्वको सरकारद्वारा गठित छानबिन समितिका प्रतिवेदन सार्वजनिक नगरेको आरोप लगाउँदै सरकारको पारदर्शितामाथि प्रश्न उठाएका हुन् । गृहमन्त्री सुधन गुरुङको स्रोत नखुलेको सम्पत्ति छानबिन गर्न गठित समिति, २०८३ वैशाख २ गते गठन भएको जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनसम्बन्धी समिति, सुनसरीको कप्तानगन्ज घटनाबारे साउनमा गठन भएको अध्ययन समिति, भदौ २४ को घटनासम्बन्धी उच्चस्तरीय छानबिन समितिका प्रतिवेदन सार्वजनिक भएका छैनन् । थापाले यिनै प्रतिवेदन सार्वजनिक नभएका प्रश्न उठाएका छन् । बिचौलियाको आरोप लागेका इनम सापकोटासँग जोडिएका विषयमा पनि थापाले छानबिनको निष्पक्षतामाथि आशंका व्यक्त गरेका छन् । रास्वपासँग आबद्ध व्यक्तिहरू सापकोटासँग जोडिएका विवरण सार्वजनिक भइरहेकाले सरकारले गर्ने छानबिन निष्पक्ष हुनेमा आशंका रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री सचिवालयद्वारा कर्मचारी पक्राऊमा आपत्ति
प्रधानमन्त्रीको सचिवालयले उच्च अधिकारीलाई नियन्त्रणमा लिँदै दबाब दिएको घटनाको विरोध गरेका छन् । सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहित कर्मचारीमाथि भएको धरपकडप्रति उनले आपत्ति जनाएका हुन् । कर्मचारीबाट गल्ती भएमा कानुनी प्रक्रिया र स्थापित निकायमार्फत अनुसन्धान हुनुपर्ने उनको भनाइ छ । एउटा कर्मचारीले नियमविपरीत काम गरेमा त्यसबारे अध्ययन तथा छानबिन गर्ने राष्ट्रिय सतर्कता केन्द्र छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ । ती निकायलाई छलेर हुकुमी शैली चलाउन मिल्दैन । राहदानी छपाइको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र परराष्ट्र मन्त्रालयका कर्मचारीलाई ८–९ घण्टासम्म प्रधानमन्त्री कार्यालयमा लगेर थुनिएको पनि उनले बताए । प्रहरी लगाउँदै निर्माण व्यवसायी तथा सचिवलाई नियन्त्रणमा लिइएको घटनाप्रति समेत थापाले आपत्ति जनाएका छन् । कानुनको शासनमा सरकारले पनि कानुनको पालना गर्नुपर्ने उल्लेख गर्दै उनले कानुनलाई हतियारका रूपमा प्रयोग गर्न नहुने बताए । उनले भने, राज्यका आधिकारिक संयन्त्रलाई बाइपास गरेर कर्मचारीलाई आतंकित बनाउने शैली लोकतान्त्रिक हुन सक्दैन ।
अर्थतन्त्र सुधारमा सरकारको ध्यान जाओस्
कांग्रेस सभापति थापाले मुलुकको अर्थतन्त्र लथालिंग अवस्थामा रहेको भन्दै सुधारमा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन् । रास्वपा नेतृत्वको सरकारले अर्थतन्त्र सुधारमा अपेक्षित काम गर्न नसकेको उनको टिप्पणी छ । ‘‘अर्थतन्त्र लथालिंग भएको छ । यस्तो बेलामा सरकारको ध्यान यो विषयमा जाओस् । यसमा कांग्रेसले साथ दिन्छ । जनताले रास्वपालाई पाँच वर्ष सरकार सञ्चालन गर्ने जिम्मेवारी दिएको उल्लेख गर्दै थापाले कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको बताए । सरकारले कांग्रेसको प्रतिपक्षी भूमिकालाई सम्मान गर्नुपर्ने उनको भनाइ छ । ‘‘कांग्रेस पाँच वर्ष प्रतिपक्षमा छ । सरकारले यो कुरा बुझोस् र सम्मान गरोस् । लोकतन्त्रको सवालमा खबरदारी गर्ने काम हाम्रो हो । निगरानी गर्ने काम हाम्रो हो । सरकार स्वेच्छाचारी हुने र जवाफदेही नहुने कुरा हामीलाई स्वीकार्य छैन । डरबाट शासन गर्ने शैली स्वीकार्य छैन,’’ उनले भने ।

















