देशबन्धु बस्नेतको महानगर होटलको आम्दानी १८८.१७ प्रतिशत बढ्यो

काठमाडौं । काठमाडौंको सुकेधारामा सञ्चालित पाँचतारे होटल मक्र्योरले गत आर्थिक वर्ष २०८२।८३ मा २६ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । होटलको आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा १८८.१७ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपैयाँले बढेको हो । आर्थिक वर्ष २०८१।८२ मा होटलले ९ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । व्यावसायिक सञ्चालनको दोस्रो वर्षमै होटलको आम्दानी र सञ्चालन मुनाफामा उल्लेख्य सुधार देखिएको छ । होटलको औसत अकुपेन्सी दरसमेत १९ प्रतिशतबाट बढेर ४१ प्रतिशत पुगेको छ । यद्यपि, कोठाको औसत बिक्रीदरमा भने गिरावट आएको छ । यसले होटलले ग्राहक आकर्षित गर्न अकुपेन्सी बढाउने रणनीति अपनाएको देखिन्छ । सन् २०१६ जुलाईमा स्थापना भएको महानगर होटल लिमिटेडले काठमाडौंको सुकेधारामा १०५ कोठासहितको पाँचतारे होटल निर्माण गरेको हो । सन् २०२० मा निर्माण सुरु भएको होटलले सन् २०२५ जनवरी १५ देखि पूर्ण व्यावसायिक सञ्चालन थालेको थियो । होटल निर्माणमा कुल ३ अर्ब २१ करोड ७० लाख रुपैयाँ लगानी भएको कम्पनीले जनाएको छ । होटल अन्तर्राष्ट्रिय होटल समूह एकोरअन्तर्गतको मक्र्योर ब्रान्डमा सञ्चालन भइरहेको छ । यसका लागि कम्पनीले एकोर होटल्सअन्तर्गतको एएपीसी इन्डिया होटल म्यानेजमेन्ट प्राइभेट लिमिटेडसँग व्यवस्थापनसम्बन्धी सम्झौता गरेको छ । महानगर होटल लिमिटेड एबी होल्डिङ्सको हिस्सा हो । कम्पनीका अध्यक्ष देशबन्धु बस्नेतको करिब ५० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

त्यसैगरी, सञ्चालक राजेन्द्र राउतसँग विभिन्न उद्योगमा ३५ वर्षभन्दा बढीको अनुभव रहेको छ । होटलले गत आर्थिक वर्ष २०८२।८३ मा करिब १ करोड ८० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । कोठा सञ्चालन तथा खाद्य र पेय पदार्थ सेवाबाट आम्दानी बढेसँगै सञ्चालन कार्यसम्पादनमा सुधार आएको हो । होटलको कुल आम्दानीमा कोठा सञ्चालनको योगदान करिब ४९ प्रतिशत र खाद्य तथा पेय पदार्थ सेवाको योगदान करिब ३७ प्रतिशत रहेको छ । यससँगै कम्पनीको सञ्चालन मुनाफा मार्जिन आर्थिक वर्ष २०८१।८२ को ऋणात्मक अवस्थाबाट सुधार भई गत आर्थिक वर्षमा ६.६६ प्रतिशत पुगेको छ । होटलको अकुपेन्सी बढ्नु र सञ्चालन आम्दानी विस्तार हुनु यस सुधारका प्रमुख आधार हुन् । होटलको औसत अकुपेन्सी दर आर्थिक वर्ष २०८१।८२ मा करिब १९ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा बढेर ४१ प्रतिशत पुगेको छ । कोठाको मागमा भएको क्रमिक वृद्धिले अकुपेन्सी सुधार गर्न सहयोग पुर्‍याएको देखिन्छ । कोठा बिक्रीबाट प्राप्त आम्दानी पनि उल्लेख्य रूपमा बढेको छ । आर्थिक वर्ष २०८१।८२ मा करिब ३ करोड ३० लाख रुपैयाँ रहेको यस्तो आम्दानी गत आर्थिक वर्षमा बढेर १३ करोड १० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा होटल छ महिनामात्र पूर्ण व्यावसायिक रूपमा सञ्चालनमा रहेकाले दुई आर्थिक वर्षको आम्दानीमा सञ्चालन अवधिको अन्तरले समेत प्रभाव पारेको छ । तर, कोठाको प्रतिकोठा औसत बिक्रीदर (एआरआर) भने घटेको छ । आर्थिक वर्ष २०८१।८२ मा ९ हजार १४१ रुपैयाँ रहेको औसत बिक्रीदर गत आर्थिक वर्षमा घटेर ८ हजार ३५० रुपैयाँ कायम भएको छ । अकुपेन्सी बढे पनि कोठाको बिक्रीदर घट्नुले होटलको मूल्य निर्धारण तथा आम्दानी व्यवस्थापनमा चुनौती रहेको देखाउँछ । गत आर्थिक वर्षको जुन महिनामा होटलले सबैभन्दा बढी करिब ६० प्रतिशत अकुपेन्सी हासिल गरेको थियो । यद्यपि, उक्त आर्थिक वर्षभरि मासिक अकुपेन्सी दर २२ प्रतिशतदेखि ६० प्रतिशतसम्म उतारचढावपूर्ण रहेको थियो । यसले होटल अझै पूर्ण रूपमा स्थिर सञ्चालन अवस्थामा पुग्न बाँकी रहेको देखाउँछ । होटलले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल २ अर्ब २५ करोड ५३ लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये २ अर्ब २४ करोड ५३ लाख रुपैयाँ दीर्घकालीन र १ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ । ठूलो पुँजीगत लगानी ऋणमार्फत जुटाइएकाले कम्पनीको वित्तीय संरचनामा ऋणको भार उच्च रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *