नागढुङ्गा सुरुङमार्ग यात्राका लागि आवश्यक ‘एन-ट्याग’ अब सानिमा बैंकबाट लिन सकिने

काठमाडौं । नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’मा यात्रा गर्न आवश्यक पर्ने आरएफआईडी प्रविधिमा आधारित ‘एन–ट्याग’ अब सानिमा बैंकका शाखाहरूबाट सहजै लिन सकिने भएको छ । सानिमा बैंकले आफ्ना देशभर फैलिएका शाखाहरूमार्फत यो सुविधा उपलब्ध गराउन थालेको हो । सडक बोर्ड नेपालद्वारा सञ्चालित यस सुरुङमार्गमा टोल भुक्तानीलाई छिटो, व्यवस्थित र प्रविधिमैत्री बनाउन विद्युतीय टोल सङ्कलन प्रणाली लागू गरिएको छ । यस प्रणालीअन्तर्गत सवारी साधनको अगाडिको सिसामा टाँसिने एन-ट्याग स्टिकरलाई प्रवेश तथा निकास गेटमा जडान गरिएको यन्त्रले स्वतः पहिचान गर्दछ । यन्त्रले पहिचान गरेपछि सम्बन्धित ट्याग खाताबाट आवश्यक टोल रकम स्वतः कट्टी भएर गेट खुल्नेछ । यसले गर्दा सवारी चालक तथा यात्रुहरूले टोल तिर्न लामो लाइनमा बस्नुपर्ने छैन भने यात्रा झन्झटरहित र छिटो हुनेछ ।

यो सुविधा काठमाडौं उपत्यकाभित्र मात्र नभई देशभरका शाखा सञ्जालमार्फत उपलब्ध गराइएको छ । यसबाट उपत्यकाबाहिरबाट काठमाडौं प्रवेश गर्ने सवारीधनीहरूले पनि आफ्नै नजिकको सानिमा बैंकको शाखामा गएर सहजै एन(ट्याग जडान गर्न सक्नेछन् । सवारीधनीहरूले एन-ट्यागमा इसेवा, फोनपे हब तथा सानिमा बैंकको मोबाइल बैंकिङमार्फत सजिलै रकम रिचार्ज गर्न सक्ने व्यवस्था मिलाइएको छ । सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले राष्ट्रिय गौरवको आयोजनामा सहजीकरण गर्न पाउनु बैंकका लागि गौरवको विषय भएको बताए । उनले भने, ‘नागढुङ्गा सुरुङमार्ग जस्तो राष्ट्रिय पूर्वाधारमा डिजिटल भुक्तानीको सहजीकरण गर्न पाउनु हामीलाई गौरवको विषय हो । आफ्नो फराकिलो शाखा सञ्जालमार्फत सर्वसाधारणसम्म यो सेवा पुर्‍याउन सानिमा बैंक प्रतिबद्ध छ ।’ एन-ट्याग खरिद तथा यसबारे थप जानकारी लिन चाहने सेवाग्राहीले नजिकैको सानिमा बैंकको शाखा वा बैंकको ग्राहक सेवा नम्बर ९८४७६९४५१० मा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *