सिटी एक्सप्रेस मनि ट्रान्सफरको गत आर्थिक वर्षमा ५६ करोड १० लाख रुपैयाँ आम्दानी

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत आर्थिक वर्षमा ५६ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा ५६ करोड ७० लाख रुपैयाँ आम्दानी गरेकोमा गत वर्ष १.०६ प्रतिशतले घटेको हो । यसअघि सन् २०२४ मा ६६ करोड ४० लाख रुपैयाँ, सन् २०२३ मा ७६ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा ८२ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको आम्दानी सन् २०२३ मा ७ प्रतिशत, सन् २०२४ मा १४ प्रतिशत र १५ प्रतिशतले घटेको थियो । कम्पनीका अनुसार बढ्दो प्रतिस्पर्धाले कमिसन आम्दानीमा कमी आउँदा समग्र आम्दानी घटेको हो । सन् २०२५ मा २३.७९ प्रतिशत रहेको कम्पनीको सञ्चालन मार्जिन गत आवमा २७.६५ प्रतिशत छ । रेमिट्यान्स उद्योगमा बढ्दो प्रतिस्पर्धाले पनि कम्पनीलाई प्रभाव पारेको देखिन्छ । नगद कारोबारको सट्टा रकम सिधै बैंक खातामा जम्मा गर्ने प्रवृत्ति बढ्दा कमिसन आम्दानी घटेको हो । बैंक खातामा सिधै रकम जम्मा गर्दा सामान्यतया कमिसन आम्दानी कम हुने भएकाले यसले कम्पनीको कुल आम्दानीमा प्रभाव पारेको बताइएको छ । कम्पनीको समग्र गियरिङ कमजोर अवस्थामा रहेको छ । कम्पनीको कुल बाह्य दायित्व र ट्यान्जिबल नेटवर्थको अनुपात सन् २०२५ मा ४ गुणा रहेकोमा गत आवमा सुधार भई ३.४४ गुणामा झरेको छ ।

सन् २०२५ मा ०.९८ गुणा रहेको करेन्ट रेसियो गत आवमा बढेर १.०५ गुणा पुगेको छ । कम्पनीको ऋण सेवा कवरेज अनुपात ४.२९ गुणा र ब्याज कभरेज अनुपात ४ गुणा रहेको छ । सन् २००७ मा स्थापना भएको कम्पनी नेपाल राष्ट्र बैंकबाट रेमिट्यान्सको कारोबार गर्नका लागि इजाजत प्राप्त कम्पनी हो । सिटी एक्सप्रेस ग्रुपद्वारा सञ्चालित कम्पनीले अन्तराष्ट्रिय कम्पनीसँग सहकार्य गरी रेमिट्यान्सको सेवा दिँदै आएको छ । कम्पनीको हाल कुल चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । कम्पनीमा डोलराज शर्मा, चन्द्र टन्डन, हेकबहादुर गुरुङ र महेशकुमार श्रेष्ठसँग २०।२० प्रतिशत स्वामित्व छन् । त्यसैगरी, सुनिलपानी गौतमको १५.५० प्रतिशत र कृष्णराज पौडेलको ४.५० प्रतिशत स्वामित्व छ । कम्पनीले अल्पकालीन कर्जाका लागि एक अर्ब रुपैयाँको रेटिङ गराएको छ । नेपालभर २५ हजारभन्दा बढी एजेन्टको सञ्जाल र भित्रिने विप्रेषणका आधारमा कम्पनीको करिब १४ प्रतिशत बजार हिस्सा छ । कम्पनीले व्यवसायको विविधीकरण तथा वित्तीय सेवा क्षेत्रका अन्य गतिविधिमा विस्तार गर्ने उद्देश्यले कम्पनीले स्मार्ट च्वाइस टेक्नोलोजिज्मा ८ करोड ७२ लाख रुपैयाँ र सिटी वालेटमा १० करोड रुपैयाँ लगानी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *