यू–१९ महिला क्रिकेटको उपाधि नेपाललाई
काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ । हङकङसँगको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि उचालेको हो । ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये चार खेलमा जित हासिल गर्यो । बाँकी दुई खेल वर्षाका कारण रद्द भएका थिए । नेपालले सिरिजको पहिलो खेलमा थाइल्यान्डलाई सात विकेटले हराउँदै सुखद सुरुआत गरेको थियो । त्यसपछि चीनसँगको दोस्रो खेल वर्षाले प्रभावित भएपछि नतिजाविहीन बनेको थियो ।
तेस्रो खेलमा नेपालले हङकङलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले चौथो खेलमा पुनः थाइल्यान्डमाथि ५२ रनको जित निकालेको थियो । नेपालले पाँचौँ खेलमा आयोजक चीनलाई ८४ रनले हराउँदै उपाधि यात्रालाई थप बलियो बनाएको थियो । नेपालले अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा पहिले ब्याटिङ गरेको नेपालले वर्षाले खेल रोकिनुअघि ११ ओभरमा दुई विकेटको क्षतिमा ८८ रन बनाएको थियो । त्यसपछि मौसम प्रतिकूल बनेपछि खेल पुनः सञ्चालन हुन सकेन । प्रतियोगितामा नेपाल, आयोजक चीन, हङकङ र थाइल्यान्ड गरी चार टोली सहभागी थिए ।

















