आज काठमाडौं उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं । आज तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएकाले सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा तीनवटा बस निःशुल्क सञ्चालन गरेको छ । सर्वसाधारण यात्रुको आवतजावत सहज बनाउने उद्देश्यले सशस्त्र प्रहरीले बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म निःशुल्क बस सेवा सञ्चालन गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने बसमध्ये एउटा बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानका यात्रुलाई सेवा दिनेछ ।

त्यस्तै, प्रधान कार्यालयबाटै सञ्चालन हुने अर्को बसले सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ । यसैगरी, प्रधान कार्यालय स्वयम्भूबाट भक्तपुरसम्म सञ्चालन हुने बसले स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः बानेश्वर, कलंकी र स्वयम्भूसम्म सेवा दिनेछ । तिहारको समयमा सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा सर्वसाधारणले आवतजावतमा भोग्नुपर्ने असुविधा कम गर्न सशस्त्र प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *