यो परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ – प्रधानमन्त्री बालेन
काठमाडौं । नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको अवसरमा प्रधानमन्त्री बालेन साहले शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान भएको बताएका छन् । ‘आजैका दिन नेवार समुदायमा हर्षोल्लासपूर्वक मनाइने ‘म्ह पूजा’ को मर्म अति गहिरो छ, ‘म्ह’ अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर, अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने यस परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ,’ प्रधानमन्त्री साहले भनेका छन् ।
साथै यो मौलिक परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुख्र्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाउने गरेको छ, जुन हाम्रा लागि गौरवको विषय रहेको उनको भनाइ थियो । ‘आजैका दिन भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाउनुभएको पौराणिक मान्यतासँगै, कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाइन्छ तथा हलो, फालीसहितका कृषि औजारहरूको पूजा गरी गोवर्धन पूजा तथा हली तिहार मनाइन्छ,’ प्रधानमन्त्री साहले भनेका छन् । हिजो भैलोका मीठा भाका र आज देउसेहरूको उल्लासमय आशीर्वादले छरछिमेकमा आपसी आत्मीयता र सद्भाव थप्ने उनको विश्वास छ । ‘हाम्रा यी मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून्,’ उनले भनेका छन् ।

















