हनीट्र्याप प्रकरणमा सिइओमाथि छानबिन सुरू भएपछि एनभिडियाको सेयर मूल्य घट्यो
विश्वप्रसिद्ध अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सेन हुआङ चिनियाँ महिलाको हनीट्र्यापमा परेको हुन सक्ने आशंकामा छानबिन सुरू भएपछि कम्पनीको सेयर मूल्य घटेको छ। आइतबार कम्पनीले यस विषयमा स्वतन्त्र छानबिन गर्ने घोषणा गरेको थियो। त्यसको भोलिपल्ट सोमबार अमेरिकी सेयर बजार खुल्नुअघि नै एनभिडियाको सेयर मूल्य करिब ५ प्रतिशत घटेको हो। शुक्रबार अमेरिकी सेयर बजार बन्द हुँदा एनभिडियाको प्रतिकित्ता सेयर मूल्य १८६.६४ अमेरिकी डलर थियो। सोमबार बजार खुल्नुअघिको कारोबारमा मूल्य घटेर करिब १७७ डलरसम्म झरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार जर्मनीको फ्र्यांकफर्ट बजारमा एनभिडियाको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरै घटेको छ। यससँगै कम्पनीको बजार पुँजीकरणमा करिब २ खर्ब ७० अर्ब डलरको गिरावट देखिएको छ। बजार पुँजीकरण भनेको कम्पनीका सबै सेयरको तत्कालीन बजार मूल्यको योगफल हो। सेयरको मूल्य घट्दा त्यस अनुसार कम्पनीको कुल बजार मूल्य पनि घट्छ। एनभिडिया आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिका लागि आवश्यक अत्याधुनिक चिप उत्पादन गर्ने विश्वकै प्रमुख कम्पनी हो। पछिल्ला वर्षहरूमा एआई प्रविधिको तीव्र विकाससँगै यसको कारोबार र बजार मूल्य असाधारण रूपमा बढेको थियो। तर कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत नै चिनियाँ गुप्तचर गतिविधिको निशानामा परेको हुन सक्ने समाचार सार्वजनिक भएपछि लगानीकर्ताहरूमा चिन्ता बढेको छ। यो विवादको सुरूआत गत अक्टोबरमा अमेरिकी अखबार द न्युयोर्क टाइम्सले प्रकाशित गरेको समाचारबाट भएको हो। उक्त समाचारमा हुआङको एलिस हुआङ नामकी चिनियाँ व्यवसायीसँग घनिष्ठ सम्बन्ध रहेको र अमेरिकी अधिकारीहरूले ती महिलालाई चिनियाँ गुप्तचर निकायका लागि सूचना संकलन गर्ने व्यक्तिका रूपमा पहिचान गरेको उल्लेख थियो। एलिस सिंगापुरस्थित मेगास्पिड नामक कम्पनीकी पूर्वकार्यकारी अधिकृत हुन्। उक्त कम्पनी एनभिडियाको एआई चिप खरिद गर्ने व्यवसायमा संलग्न छ।
मेगास्पिडमाथि अमेरिकाले चीन निर्यात गर्न प्रतिबन्ध लगाएका अत्याधुनिक चिपहरू चीनसम्म पुर्याउन सहयोग गरेको आशंकामा समेत छानबिन भएको थियो। यही पृष्ठभूमिमा अमेरिकी अधिकारीहरूले एलिस र हुआङबीचको सम्बन्धलाई राष्ट्रिय सुरक्षाको दृष्टिले संवेदनशील मानेका हुन्। गुप्तचर गतिविधिमा हनीट्र्याप भन्नाले कुनै व्यक्तिसँग प्रेम वा यौन सम्बन्ध स्थापित गरेर गोप्य सूचना प्राप्त गर्ने, प्रभाव पार्ने वा दबाबमा राख्ने प्रयासलाई बुझिन्छ। तर हुआङलाई वास्तवमै यस्तो जालमा पारिएको थियो भन्ने अहिलेसम्म प्रमाणित भएको छैन। एलिसले चिनियाँ गुप्तचर निकायका लागि काम गरेको भन्ने अमेरिकी अधिकारीहरूको निष्कर्ष पनि सार्वजनिक रूपमा स्वतन्त्र प्रमाणबाट पुष्टि भइसकेको छैन। हुआङले भने आफ्नी श्रीमतीप्रति वफादार नरहेको स्वीकार गरेका छन्। आइतबार एनभिडियाका कर्मचारीहरूलाई पठाएको सन्देशमा उनले विवाहबाहिर सम्बन्ध राखेको स्वीकार गर्दै आफ्नो व्यवहारप्रति जिम्मेवारी लिएका थिए। उनले सम्बन्धित महिलाको परिचय र सम्बन्धको विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन्। यसअघि एनभिडियाको सञ्चालक समितिले स्वतन्त्र अनुसन्धान घोषणा गर्दै अमेरिकी राष्ट्रिय तथा आर्थिक सुरक्षा कम्पनी र यसका सेयरधनीहरूको हितसँग जोडिएको जनाएको थियो। कम्पनीका अनुसार स्वतन्त्र सञ्चालकहरूको समिति र बाह्य कानुनी सल्लाहकारहरूको सहयोगमा अनुसन्धान गरिनेछ। कम्पनीले अहिलेसम्म राष्ट्रिय सुरक्षा वा एनभिडियाका गोप्य सूचना चुहिएको विश्वास गर्ने कुनै आधार नभेटिएको स्पष्ट पारेको छ। सञ्चालक समितिले हुआङ र उनको नेतृत्व टोलीप्रति विश्वास कायमै रहेको जनाउँदै अनुसन्धानमा हुआङले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरेको छ। यसबीच चीनले भने हुआङसँग जोडिएको जासुसीको आरोप अस्वीकार गरेको छ। सोमबार चिनियाँ विदेश मन्त्रालयले अमेरिकी सञ्चारमाध्यममा आएका आरोप आधारहीन रहेको भन्दै यसलाई चीनलाई बदनाम गर्ने प्रयासको संज्ञा दिएको छ। चिनियाँ पक्षको अस्वीकार र अमेरिकी अधिकारीहरूको आशंकाबीच वास्तविकता के हो भन्ने स्वतन्त्र अनुसन्धानबाट प्रस्ट हुन बाँकी छ। यो घटनाले एनभिडियाको नेतृत्वसँगै चीनसँगको व्यापार समेत प्रभावित हुन सक्ने चिन्ता बढाएको छ। अमेरिकाले अत्याधुनिक एआई चिप चीन निर्यात गर्न विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ।
एनभिडियाले भने चीनको विशाल बजारमा आफ्ना उत्पादन बिक्री गर्न पाउनुपर्ने पक्षमा अमेरिकी सरकारसँग पैरवी गर्दै आएको छ। हुआङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग समेत यस विषयमा छलफल गर्दै आएका छन्। केही चिपको चीन निर्यातमा अमेरिकी सरकारले अनुमति दिए पनि चिनियाँ पक्षबाट लगाइएका सीमितताका कारण बिक्री अपेक्षित रूपमा बढ्न सकेको छैन। अहिले उत्पन्न विवादले एनभिडियाको चीनसँगको कारोबारमाथि अमेरिकी नियामक निकायको निगरानी थप कडा हुन सक्ने विश्लेषकहरूको आशंका छ। लगानीकर्ताको अर्को चिन्ता कम्पनीको नेतृत्वसँग सम्बन्धित छ। सन् १९९३ मा एनभिडिया स्थापना गरेका हुआङ कम्पनीको विश्वव्यापी विस्तारका प्रमुख रणनीतिकार मानिन्छन्। एआई चिपको बजारमा कम्पनीलाई अग्रणी स्थानमा पुर्याउन उनको महत्त्वपूर्ण भूमिका छ। त्यसैले अनुसन्धानका कारण उनको नेतृत्वमा अनिश्चितता उत्पन्न भए कम्पनीको भविष्यको रणनीति र लगानीकर्ताको विश्वासमा असर पर्न सक्ने विश्लेषकहरू बताउँछन्। यो विवादको प्रभाव दक्षिण कोरियासम्म पनि पुगेको छ। एनभिडियामै कार्यरत हुआङकी छोरी म्याडिसन हुआङले सोमबार सुरू हुने कम्पनीसम्बन्धी सम्मेलन सिलसिलामा सोलमा तय गरिएका भेटघाट रद्द गरेकी छन्। भेटघाट रद्द गर्नुको कारण भने पुष्टि भएको छैन। यद्यपि एनभिडियाका प्रमुख एसियाली आपूर्तिकर्ताहरूको सेयर मूल्यमा सोमबार सुधार देखिएको छ। ताइवानको टिएसएमसीको सेयर ६.५ प्रतिशत तथा दक्षिण कोरियाका सामसङ र एसके हाइनिक्सको सेयर क्रमशः २.९ र ४.७ प्रतिशत बढेका छन्। दक्षिण कोरियाली सरकारले पनि एनभिडियाबाट सम्झौता अनुसार प्राप्त हुने चिपको आपूर्ति प्रभावित नहुने अपेक्षा व्यक्त गरेको छ। एनभिडियाको सेयर भने अनुसन्धान घोषणाअघि नै दबाबमा थियो। एआई क्षेत्रमा भइरहेको विशाल लगानीको प्रतिफल र डेटा सेन्टर विस्तारको दिगोपनबारे लगानीकर्ताहरूले प्रश्न उठाइरहेका थिए। त्यसैले पछिल्लो गिरावटलाई हनीट्र्याप विवादसँग मात्र जोडेर हेर्न नमिल्ने विश्लेषकहरूको भनाइ छ।अहिले एनभिडियाका लगानीकर्ताहरूको ध्यान कम्पनीको स्वतन्त्र अनुसन्धानबाट आउने निष्कर्ष र हुआङको नेतृत्व निरन्तरतामा केन्द्रित भएको छ। विश्व एआई बजारको प्रमुख कम्पनीका सिइओसँग जोडिएको व्यक्तिगत सम्बन्धको विवाद यसरी राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय व्यापार र खर्बौं डलरको सेयर बजारसँग जोडिएको छ।

















