सहारा नेपालको नयाँ सञ्चालक समितिलाई पद हस्तान्तरण,मेरो आफ्नै घर–कर्जा’ सार्वजनिक

झापा । बिर्तामोड नगरपालिका–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई औपचारिक रूपमा पद हस्तान्तरण गरेको छ। नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरणसँगै संस्थाले आगामी कार्यकालको सफलताको शुभकामना आदानप्रदान तथा दीपावली विशेष कार्यक्रम समेत आयोजना गरेको छ। संस्थाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा निवर्तमान सञ्चालक समितिले नवनिर्वाचित समितिलाई संस्थाको जिम्मेवारी हस्तान्तरण गरेको हो। कार्यक्रममा संस्थाका अध्यक्ष छविलाल खतिवडाको अध्यक्षता रहेको थियो। पद हस्तान्तरणका क्रममा निवर्तमान अध्यक्ष हरिबहादुर राजवंशीले नवनिर्वाचित अध्यक्ष खतिवडालाई संस्थाको आधिकारिक अभिलेख, लेटरहेड र छाप हस्तान्तरण गरेका थिए। त्यसैगरी लेखा सुपरिवेक्षण समितिका संयोजक डम्बरबहादुर देउजालाई निवर्तमान समितिका तर्फबाट माइन्युट हस्तान्तरण गरिएको थियो। यससँगै संस्थाको नेतृत्व र जिम्मेवारी औपचारिक रूपमा नयाँ समितिमा सरेको छ। कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले सहारा नेपालको समग्र अवस्था, संस्थागत गतिविधि तथा सञ्चालनका विभिन्न पक्षबारे जानकारी गराएका थिए। उनले संस्थाको वर्तमान अवस्थाबारे नवनिर्वाचित नेतृत्वलाई अवगत गराउँदै आगामी दिनमा संस्थालाई थप प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउनुपर्ने विषयमा धारणा राखेका थिए। निवर्तमान सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरूले नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीलाई सयपत्री फूलको माला लगाएर स्वागत गरेका थिए। उनीहरूले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै संस्थाले हासिल गरेको उपलब्धि र सदस्यहरूको विश्वासलाई कायम राख्दै थप उचाइमा पुर्‍याउन आग्रह गरेका थिए। कार्यक्रमको अवसर पारेर सहारा नेपालले नयाँ वित्तीय सेवा उत्पादन ‘मेरो आफ्नै घर–कर्जा’ सार्वजनिक गरेको छ। संस्थाका स्थापनाकालदेखिका ज्येष्ठ सदस्य महानन्द गिरी र रमएकवाल साहले संयुक्त रूपमा उक्त कर्जा उत्पादन सार्वजनिक गरेका हुन्। आवास निर्माण तथा घरसम्बन्धी आवश्यकतामा सदस्यलाई लक्षित गरी ल्याइएको यस नयाँ उत्पादनलाई संस्थाको वित्तीय सेवा विस्तारको प्रयासका रूपमा प्रस्तुत गरिएको थियो।

संस्थाले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने अवसरमै नयाँ कर्जा उत्पादन सार्वजनिक गरेर संस्थाको भावी कार्यदिशा र सेवा विस्तारको सन्देशसमेत दिएको छ। नवनिर्वाचित अध्यक्ष खतिवडाले संस्थाको आगामी कार्ययोजना र रणनीतिबारे धारणा राख्दै संस्थागत विकास, सदस्यको हित र सहकारीको सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले संस्थाप्रति सदस्यहरूले देखाएको विश्वासलाई अझ बलियो बनाउँदै सहारालाई थप व्यवस्थित र प्रभावकारी संस्थाका रूपमा अघि बढाउने बताए। कार्यक्रमलाई दीपावलीमय बनाउन सहभागीबीच फूलका गुच्छा आदानप्रदान गरी शुभकामना साटासाट गरिएको थियो। त्यस अवसरमा देउसी–भैलो, सांस्कृतिक प्रस्तुति तथा नाचगानसमेत गरिएको थियो। पदहस्तान्तरण र संस्थागत छलफलसँगै चाडपर्वको सांस्कृतिक उल्लास जोडिँदा कार्यक्रम औपचारिकतासँगै आत्मीय भेटघाटको अवसर बनेको थियो। कार्यक्रम सञ्चालन संस्थाका निर्देशक दिनेशबहादुर निरौलाले गरेका थिए। सहकारीको नेतृत्व हस्तान्तरण, नयाँ वित्तीय उत्पादन सार्वजनिक तथा दीपावलीको शुभकामना आदानप्रदानलाई एउटै समारोहमा समेटेर आयोजना गरिएको कार्यक्रमले नयाँ कार्यसमितिको कार्यकाल प्रारम्भसँगै संस्थागत निरन्तरता र भावी योजनालाई अघि सारेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *