लक्ष्मीपूजामा विद्युत्को उच्च माग १,८१३ मेगावाट
काठमाडौं । यस वर्षको लक्ष्मीपूजाका दिन नेपालमा विद्युत्को उच्चतम माग एक हजार ८१३ मेगावाट पुगेको छ । आइतबार ९कात्तिक २२० साँझ ६ः१५ बजे यसको उच्चतम माग एक हजार ८१३ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । उक्त समयमा नेपालको कुल विद्युत् उत्पादन दुई हजार ४००.३० मेगावाट थियो । कुल उत्पादनमध्ये ५८७.३० मेगावाट विद्युत् भारततर्फ निर्यात गरियो । यसरी आन्तरिक खपत र निर्यातसहित प्रणालीको उच्चतम भार दुई हजार ४००.३० मेगावाट पुगेको प्राधिकरणले जनाएको छ । यस वर्षको लक्ष्मीपूजामा निजी क्षेत्रका विद्युत् आयोजनाबाट एक हजार ५३६.५० मेगावाट बिजुली उत्पादन भएको छ । प्राधिकरणको सहायक कम्पनीबाट ४९९.२०, नदी प्रवाहमा आधारित तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२.३० र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् उत्पादन भएको जनाइएको छ ।
यस अवधिमा तापीय आयोजनाबाट विद्युत् उत्पादन भएको थिएन । भारतबाट पनि विद्युत् आयात गर्नुपरेको थिएन । लक्ष्मीपूजाका दिन काठमाडौं उपत्यकाको विद्युत् माग ४८९.५० मेगावाट पुग्यो । यसले उपत्यकामा विद्युत् खपत बढेको देखाउँछ । उक्त समयमा विद्युत् प्रणालीको आवृत्ति ५०.१२० हर्ज रहेको थियो । प्रणालीमा अवरोध शून्य देखिएको प्राधिकरणले जनाएको छ । गत वर्षको लक्ष्मीपूजासँग तुलना गर्दा यसपालि राष्ट्रिय विद्युत् माग बढेको छ । ०८२ कात्तिक ३ गते परेको लक्ष्मीपूजाका दिन राष्ट्रिय विद्युत् माग एक हजार ७४५ मेगावाट थियो । त्यति बेला कुल विद्युत् उत्पादन दुई हजार ७६० मेगावाट पुगेको थियो । एक हजार १५ मेगावाट विद्युत् निर्यात गरिएको थियो । काठमाडौं उपत्यकाको माग ४०२.४९ मेगावाट थियो । ०८१ कात्तिक १५ गतेको लक्ष्मीपूजामा राष्ट्रिय विद्युत् माग एक हजार ६०२.२० मेगावाट थियो । त्यस दिन कुल विद्युत् उत्पादन एक हजार ८५५ मेगावाट पुगेको थियो । विद्युत् निर्यात २५२।९० मेगावाट थियो । काठमाडौं उपत्यकाको माग ३८०.५० मेगावाट रहेको प्राधिकरणले जनाएको छ । तीन वर्षको तथ्यांक हेर्दा लक्ष्मीपूजाका दिन राष्ट्रिय विद्युत् माग निरन्तर बढेको देखिन्छ । काठमाडौं उपत्यकाको विद्युत् मागमा पनि उल्लेख्य वृद्धि देखिएको प्राधिकरणले जनाएको छ ।

















