देउसी–भैलो खेल्न चौबिसै घण्टा अनुमति, मन्त्रालयले तोक्यो यी सात सर्त
काठमाडौं । गृह मन्त्रालयले तिहारका अवसरमा देउसी–भैलो कार्यक्रम चौबिसै घण्टा सञ्चालन गर्न अनुमति दिएको छ । सोमबार मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै सुरक्षित, मर्यादित एवं सुव्यवस्थित रूपमा चौबिसै घण्टा देउसी–भैलो खेल्न दिने जनाएको हो । निर्धारित सर्त पालना गरी देउसी–भैलो खेल्न दिन मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयले सात सर्त पनि तोकेको छ । परिपत्रमा नेपालीहरूको मौलिक सांस्कृतिक, धार्मिक तथा परम्परागत चाड तिहारका अवसरमा देउसी–भैलो कार्यक्रम अनुशासित रूपमा २४ घण्टा सञ्चालन गर्न दिन भनिएको छ । परिपत्रअनुसार देउसी–भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक र मर्यादित ढंगले सञ्चालन गर्नुपर्नेछ ।
कार्यक्रममा सहभागी हुने वा नहुने विषय व्यक्तिको इच्छामा निर्भर हुने र कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न नपाइने व्यवस्था गरिएको छ । विभिन्न जातजाति, धर्म, भाषा, लिंग वा समुदायप्रति घृणा तथा द्वेष फैलाउने किसिमका अश्लील नृत्य, गीत, संगीत वा नाराको प्रयोग गर्न निषेध गरिएको छ, परिपत्रमा उल्लेख छ । मन्त्रालयले चाडपर्व मनाउने क्रममा जुवा तथा तास नखेल्न निर्देशन दिएको छ । सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न र मादक पदार्थ तथा लागुपदार्थ सेवन गरेर सवारीसाधन नचलाउन भनिएको छ । अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम तथा ध्वनि उपकरण प्रयोग नगर्नसमेत भनिएको छ । विशेष गरी अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा शान्ति कायम राख्न मन्त्रालयले निर्देशन दिएको छ ।


















