भारत भ्रमणमा पूँजी बजारको मुद्दा उठाउँदै अध्यक्ष ढकाल
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणमा नेपालको पूँजी बजारदेखि ऊर्जा, सूचना प्रविधि र औद्योगिक क्षेत्रसम्मका निजी क्षेत्रका प्रतिनिधि सहभागी हुने भएका छन्। नेपालको शेयर बजारको प्रतिनिधित्व गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल पनि भारत जाने भएका छन्। प्रधानमन्त्रीसँग भारत जाने ५२ सदस्यीय व्यावसायिक प्रतिनिधिमण्डलमा ढकाललाई समेटिएपछि दुई देशबीच पूँजी बजार र वित्तीय क्षेत्रमा सहकार्य विस्तारको विषयले समेत प्राथमिकता पाउने अपेक्षा गरिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्यसमेत रहेका ढकालले भारत भ्रमणमा नेपालको पूँजी बजार क्षेत्रको प्रतिनिधित्व गर्नेछन्। प्रधानमन्त्रीको दुईदिने राजकीय भ्रमणलाई राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तारसँगै आर्थिक साझेदारीका नयाँ अवसर खोज्ने माध्यमका रूपमा हेरिएको छ। नेपालको पूँजी बजारलाई पारदर्शी, व्यवस्थित र लगानीमैत्री बनाउने विषय अहिले आर्थिक क्षेत्रको महत्वपूर्ण चासो बनेको छ।
पूँजी परिचालन बढाउने, लगानीकर्ताको विश्वास कायम गर्ने र वित्तीय क्षेत्रको विकास गर्ने विषयमा नीतिगत सहकार्यको आवश्यकता छ। यस्तो अवस्थामा भारतीय पूँजी बजार तथा वित्तीय संस्थाका अनुभव बुझ्ने अवसर ढकालको भ्रमणले प्रदान गर्न सक्नेछ। भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। बैंकिङ, वित्तीय सेवा र पूँजी बजारको विकासमा पनि भारतसँग लामो अनुभव छ। भारतीय व्यावसायिक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग हुने छलफलले नेपालको पूँजी बजारका सम्भावना र चुनौतीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ। नेपालमा संस्थागत सुधार, लगानीका नयाँ क्षेत्र विस्तार र वित्तीय उपकरणको विकासबारे बहस भइरहेका बेला ढकालको सहभागितालाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसले पूँजी बजारसम्बन्धी विषयलाई पनि आर्थिक कूटनीतिको एजेन्डामा जोड्ने अवसर दिनेछ।


















