सुदूरपश्चिम रोयल्सलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै टोलीका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिने घोषणा गरेका छन् । एनपीएलको तेस्रो संस्करणको विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै प्रधानमन्त्री साहले छैटौँ संस्करणदेखि प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी आठवटै क्लबका आफ्नै रंगशाला हुनेछन् । ती रंगशाला फ्लडलाइटसहित निर्माण गरिनेछन् । रंगशाला निर्माणको जिम्मेवारी नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले लिनेछ । प्रधानमन्त्री साहले फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र आगामी तीन महिनाभित्र अन्य रंगशालाको निर्माण प्रक्रिया पनि सुरु गरिने बताए । सरकारले सार्वजनिक गरेको विवरणअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला र कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला निर्माण गरिनेछ । त्यस्तै, सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला, काठमाडौं गोर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला रहनेछन् । प्रधानमन्त्री साहले क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *