प्रिमियर इन्टरनेसनल स्कुलमा ‘थ्योरी अफ नलेज’ प्रदर्शनी सम्पन्न
काठमाडौं । नेपालकै पहिलो र एकमात्र आईबी कन्टिन्युम स्कुल प्रिमियर इन्टरनेसनल स्कुलले ‘थ्योरी अफ नलेज एक्जिबिसन २०२५’ अन्तर्गत ‘ज्ञान मेला’ सफलतापूर्वक सम्पन्न गरेको छ । आईबी डिप्लोमा प्रोग्राम अन्तर्गत वर्ष १ का विद्यार्थीले ज्ञान र यथार्थबीच सम्बन्ध खोज्ने उद्देश्य सहित तीन वस्तु र तिनमा आधारित लेख प्रस्तुत गरेका थिए । जसमा लेखिएको टिप्पणी मार्फत उनीहरूको तर्क, विवेक र विश्लेषण क्षमता प्रदर्शन गरिएको छ । यस वर्षको प्रदर्शनीको नाम ‘ज्ञान मेला’ राखिनुको उद्देश्य यो कार्यक्रम ज्ञानको उत्सवमात्र नभई स्थानीय सन्दर्भमा विश्व शिक्षा जोड्ने अभ्यास पनि हो भन्ने सन्देश दिनु रहेको जनाइएको छ ।
विद्यार्थी, अभिभावक, शिक्षक र अतिथि विद्यालयका पाहुनाको सहभागिता रहेको कार्यक्रममा कृत्रिम बुद्धिमत्ता, इतिहास, जातीय ज्ञान प्रणाली र वैज्ञानिक नैतिकता जस्ता विविध विषयमा छलफल गरिएको थियो । प्रधानाध्यापक शमा क्षेत्रीले विद्यार्थीको प्रस्तुतिमा गर्व व्यक्त गर्दै भनिन्, ‘थ्योरी अफ नलेज एक्जिबिसनले विद्यार्थीलाई किताबी ज्ञानभन्दा बाहिर सोच्न प्रेरित गर्छ, जुन दीर्घकालीन जीवन सिपको जग हो । ज्ञान मेला केवल शैक्षिक कार्यक्रम नभई, प्रश्न गर्ने, सोच्ने र संस्कृति जगेर्ना गर्दै विश्वसँग जोडिने सिकाइ यात्राको उत्सव बनेको थियो ।