नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न आग्रह
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई संसद्को चालू अधिवेशनबाटै पारित गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गरेका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको समिति बैठकमा उनले नागरिकता सम्बन्धी समस्याको समाधानका लागि यो विधेयक महत्त्वपूर्ण रहेको बताए । गृहमन्त्री लेखकले कानूनी जटिलताका कारण धेरै युवा नागरिकताविहीन भएको उल्लेख गर्दै सरकारले सबैको समस्या समाधान गर्ने गरी विधेयक ल्याएको दाबी गरे । उनले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गर्न थप सहजता ल्याउने र विदेशमा जन्मेका नेपाली नागरिकका सन्तानको बाबुको नाम नखुलेको अवस्थालाई समेत सम्बोधन गर्ने प्रावधान विधेयकमा समावेश गरिएको जानकारी दिए ।
यसैगरी, गृहमन्त्री लेखकले गैरआवासीय नेपाली (एनआरएन) सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको र त्यसलाई पनि अघि बढाइने बताए। समिति सभापति रामहरि खतिवडाले चालू अधिवेशनमै विधेयक पारित गर्ने गरी छलफल तीव्र पारिएको बताए। उनले अर्को बैठकमा गैरआवासीय नेपालीसँग थप छलफल गरिने जानकारी दिए । यो विधेयकले नागरिकता सम्बन्धी लामो समयदेखिको जटिलता समाधान गर्ने अपेक्षा गरिएको छ ।















