नेपाली कांग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग खोस्नुपर्ने बेला भइसकेको छ : कोइराला

भक्तपुर । भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले कांग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन् । उनले देश अप्ठ्यारो परिस्थितिमा गएको र नेपाली कांग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग खोस्नुपर्ने बेला भइसकेको टिप्पणी गरे । उनले कुनै पनि देशमा मध्यममार्गी पार्टी कमजोर भए देश अराजकतातिर जाने जिकिर गरे । नेपाली कांग्रेस सरकारमा रहेको तर सत्ताको चाबी वामपन्थीहरूसँग रहेको भन्दै सत्ताको चाबी कांग्रेसले खोल्नुपर्ने बताए । कांग्रेसको भविष्यको प्रतिस्पर्धी नेकपा एमाले भएकाले एमालेले गरेका नराम्रा कामहरू नागरिक समक्ष लैजानुपर्ने बताए । सांसद कोइरालाले भने, ‘अत्यन्तै अप्ठ्यारो परिस्थितिमा देश गइरहेको छ । नेपाली कांग्रेस एउटा मध्यममार्गी पार्टी हो । हामी दक्षिणपन्थी पनि होइन र वामपन्थी पनि होइन ।

उग्रवामपन्थीको त कुरै भएन । कुनै पनि देशमा मध्यममार्गी पार्टी कमजोर भयो, खुम्चियो भने देश अराजकतातिर जान्छ । त्यो बुझौँ । त्यो अराजकता रोक्न नेपाली कांग्रेसले मात्रै सक्छ । कोइरालाले सरकार र सत्ता फरक कुराहरू रहेको समेत बताए । उनले भने, ‘हामी सरकारमा छौँ । नेपाली कांग्रेस सरकारमा छ । तर सत्ताको चाबी हामीसित छैन । यसको अर्थ तपाईंहरु आफैँ लगाउनुस् । सत्ताको चाबी वामपन्थीसँग छ । त्यसलाई कसरी हामीले खोल्ने ? चाबी खोल्नुपर्‍यो नि त । साथीहरूले भन्नुहुन्छ, किन तिमी यसरी बोल्छौँ । भोलिको प्रतिस्पर्धी एमाले हो । उसले गलत काम गरेको छ भने गलतलाई गलत र सहीलाई सही भन्न सकौँ । नेपाली कांग्रेसका कार्यकर्ताहरूले गलतलाई गलत भन्न सकेनन् भने ती कार्यकर्ता नेपाली कांग्रेसका कार्यकर्ता होइनन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *