२५ वर्षको मेहनतले आजको आइएमई सम्भव भयो : डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर बमबहादुर मिश्रले विगत २५ वर्षको अथक प्रयास र समर्पणले आजको डिजिटल वित्तीय संरचना सम्भव भएको बताएका छन् । राष्ट्र बैंक प्रवेश गरेकै समय आइएमईजस्ता संस्थाहरू सुरुआती चरणमा रहेको स्मरण गर्दै त्यतिबेला गरिएको मेहनतकै जगमा आजको डिजिटल प्रगति सम्भव भएको बताए । ‘जब म राष्ट्र बैंकमा प्रवेश गरेँ, त्यो बेला आइएमईजस्ता संस्था संचालनमा आएका थिए। ती संस्थाहरू आज डिजिटल युगमा प्रवेश गरिसकेका छन् । त्यो रूपान्तरण सहज थिएन, २५ वर्षअघि जसले लगनशीलता देखाए, उनीहरूकै योगदानले आजको अवस्था बनेको हो । उनले वित्तीय प्रणालीलाई अझ व्यवस्थित बनाउँदै लैजानका लागि नीति निर्देशनको प्रभावकारी कार्यान्वयन अपरिहार्य भएकोमा जोड दिए । ‘राष्ट्र बैंकले आगामी दिनमा यस्ता नीति निर्देशन ल्याउनेछ जुन व्यवहारिक मात्र नभइ, अर्थतन्त्रका हरेक तहमा सकारात्मक असर पार्नेछ । त्यसको सफल कार्यान्वयन सुनिश्चित गर्न सबै वित्तीय संस्थाहरूले कडाइका साथ पालना गर्नुपर्छ । मिश्रले डिजिटल बैंकिङ विस्तार, साइबर सुरक्षामा बलियो नियमन, र ग्रामीण क्षेत्रसम्म वित्तीय पहुँच विस्तारजस्ता विषयमा राष्ट्र बैंकले स्पष्ट कार्यदिशा तय गर्ने पनि जानकारी दिए । उनले नीति निर्माण मात्र होइन, त्यसको कार्यान्वयनमै राष्ट्र बैंक केन्द्रित हुने बताए। अबको प्राथमिकता नीति कार्यान्वयन हो, केवल कागजमा रहने नियमको युग समाप्त भइसकेको छ, मिश्रको प्रष्ट सन्देश थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *