इरानको आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
काठमाडौं । इरानको आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । शुक्रबार इजरायलले इरानमा आक्रमण गरेपछि इरानले जवाफी आक्रमण गरिरहेको छ । आइतबार इजरायलले गरेको आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी)को गुप्तचर इकाइका प्रमुख मोहम्मद काजेमी मारिएपछि इरानले इजरायलको मध्य भागमा जवाफी मिसाइल आक्रमण गरेको छ । त्यस हमलामा पाँच जनाको मृत्यु भएपछि इरानी आक्रमणमा इजरायलमा मारिएका मानिसहरूको कुल संख्या कम्तीमा १९ पुगेको बीबीसीले जनाएको छ । इजरायलको राष्ट्रिय आपत्कालीन सेवा मागेन डेभिड एडोमका अनुसार, इरानको नयाँ मिसाइल हमलामा इजरायलको मध्य भाग पेटाह टिक्वा सहरमा चारजना र बने ब्राक सहरमा एक जनाको मृत्यु भएको छ । आपत्कालीन सेवाले ९२ जना घाइतेलाई उद्धार गरेको बताएको छ । घाइतेहरूमध्ये एकजना ३० वर्षीय एक महिलाको अनुहारमा गम्भीर चोट लागेको, ६ जना स्थिर स्थितिमा र ८५ जना सामान्य चोट लागेका बताएको छ ।
इरानी मिसाइलहरूले इजरायलको मध्य र तटीय क्षेत्रका धेरै स्थानमा आक्रमण गरेको र जसमा आवासीय भवन पनि समावेश छन् । यता, इजरायली रक्षामन्त्रीले इजरायली नागरिकमाथि इरानले गरेको हमलाका लागि तेहरानका बासिन्दाले मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । रातभरको इरानी मिसाइल आक्रमणमा पाँच जनाको मृत्यु र दर्जनौँ घाइते भएपछि उनको भनाइ आएको हो । उता, इरानको स्वास्थ्य मन्त्रालयले आइतबार शुक्रबारदेखि इजरायली हमलाबाट देशभर २२४ जनाको ज्यान गएको बताएको छ । अन्य, एकहजार २७७ जना घाइतेलाई अस्पतालमा लगिएको छ ।
बीबीसीबाट ।