जेलबाट रविको अपिल- म एउटा मान्छे कति जनाको भाकलका लागि कति पटक रेटिने, कति टुक्रामा काटिने ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्धका षड्यन्त्र अझै नसकिएको बताएका छन् । पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा शनिबार भैरहवा कारागारबाट अपिल सार्वजनिक गर्दै सभापति लामिछानेले अपराधपूर्ण घेराबन्दीमा जनताको अदालतबाहेक न्याय माग्न जाने आफ्नो ठाउँ नभएको बताएका हुन् । लामिछानेले भनेका छन्, ‘मविरुद्धका षड्यन्त्र अझै सकिएका छैनन् । २०४६ सालपछिका ३६ वर्षमा यिनीहरूले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई कसरी कब्जा गरिसकेका छन्, आज संसारले देखेको छ । यो अपराधपूर्ण घेराबन्दीमा अब मैले जनताको अदालतबाहेक न्याय माग्न जाने ठाउँ छैन ।’सभापति लामिछानेले बितेका ३६ वर्षमा नेताहरूले देश र जनतालाई दिएको दुःखका अगाडि आफूले पाएको दुःख केही पनि नभएको बताएका छन् । ‘राज्य यिनको, अड्डा–अदालत यिनको, मिडियासमेत यिनकै । राज्यका सारा अंग र संरचना यिनकै भर्तीकेन्द्र । घरिघरि लाग्छ, यिनीहरूले मलाई धेरै दुःख दिए । तर, विचार गर्दै जाँदा गएका ३६ वर्षमा यिनीहरूले देश र जनतालाई दिएको दुःखका अगाडि मैले पाएको दुःख त केही पनि होइन । यिनीहरूले मलाई जेल हाले भनेर के दुःखमनाउ गर्नु, जब यिनीहरूले सिंगो देशलाई नै जेल बनाइसके,’ उनले भनेका छन् । सभापति लामिछानेले कसैको राजनीति, कसैको सरकार बनाउन वा जोगाउन र कसैलाई उच्च वा सर्वोच्च पुग्न आफू बलि चढ्नुपरेको बताएका छन् । सभापति लामिछानेले एउटा मान्छे कति जनाको भाकलका लागि कति पटक रेटिने र कति टुक्रामा काटिने भन्ने प्रश्न पनि गरेका छन् । ‘सबैले मेरै बलि चढाउने भाकल गरेका छन् । कसैको राजनीति जोगाउन, कसैको सरकार बनाउन वा जोगाउन र कसैलाई उच्च वा सर्वोच्च पुग्न पनि मेरै बलि चढ्नुपर्ने । म एउटा मान्छे कति जनाको भाकलका लागि कति पटक रेटिने, कति टुक्रामा काटिने ? सबको भाकल पूरा गर्न रेटिँदा–रेटिँदा मसँग हाडछाला र एकमुठी प्राण मात्र बाँकी छ,’ उनले भनेका छन्, ‘यतिबेला मसँग सत्यबाहेक केही पनि बाँकी छैन । म थुनिँदा मात्रै न्यायालयप्रतिको विश्वास कायम रहन्छ रे । आज सबै क्षेत्र जनताको प्रत्यक्ष निगरानीमा छ । मिडिया होस् या न्यायालय, जनताको अदालतमा ढिलोछिटो सबैले जवाफ दिनुपर्नेछ । एक न एकदिन सबैको स्वतेपत्र निस्कने नै छ ।’