शुभप्रवा सेभिङ्ग १६ बर्षमा प्रवेश गरेको अवसरमा पशुपति क्षेत्र विकास कोषलाई टोकन हस्तान्तरण
काठमाण्डौं । काठमाडौंको चावहिल चुच्चेपाटीमा मुख्य कार्यालय रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिटको को अपरेटिभ लि.ले स्थापनाकालदेखि नै सामाजिक क्रियाकलापलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक बर्ष व्यक्ति तथा संघ संस्थालाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ । सहकारीको सात सिद्धान्त मध्ये एउटा सिद्धान्त समुदायप्रतिको चासो भन्ने रहेको छ । सोही सिद्धान्तलाई आत्मसात गर्दै संस्थाले स्थापना दिवस तथा बार्षिक साधारणसभाको अवसरमा समुदायलाई लाभ पुग्ने कार्य गर्दै आएको छ । संस्थाले कोभिड १९ महामारीको वेलामा महानगरपालिकालाई आर्थिक सहायता गर्नेदेखि सदस्य र समुदायलाई हित पुग्ने थुप्रै क्रियाकलाप गर्ने गरेको छ । सहकारीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिद्धान्तहरुले पनि समाजिक उत्तरदायित्वलाई उतिकै प्राथामिकतामा राखेको छ । सहकारी सामाजिक व्यवसाय भएकाले नाफालाई मात्र नहेरी समाजलाई योगदान पुर्याउनु संस्थाको कर्तव्य हो । संस्था स्थापनाको १५ बर्ष पुरा गरी १६ बर्षमा प्रवेश गरेको अवसरमा पशुपति क्षेत्र विकास कोषलाई टोकन हस्तान्तरण गरेको छ । संस्थाले पशुपतिनाथ मन्दिर दर्शनाथ आउने भत्तजनहरुको जुत्ता चप्पल व्यवस्थापनको लागि सहयोग पुर्याउने उदेश्यले कोषलाई टोकन हस्तान्तरण गरेको हो । कोषले सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै संस्थाले उपलब्ध गराएको टोकनको सही सदुपयोग गर्ने जनाएको छ । आगामी दिनमा पनि यस्ता सामाजिक क्रियाकलापलाई निरन्तरता दिन सकोस भन्ने शुभकामना कोषले दिएको छ । मुलुकमा रहेका केही सहकारी संस्थाहरुमा देखिएको आर्थिक असहजताको कारण सम्पूर्ण सहकारी क्षेत्र नै आशंकाको चपेटामा परेको समयमा पनि संस्थाले सम्पूर्ण शेयर सदस्यहरुको विश्वास जितेका कारण समग्र वित्तीय सुचाङ्कहरु बलियो रहेको जनाएको छ । ‘ तपाईको वित्तीय साझेदार’ भन्ने नारालाई मुलमन्त्र मानी सहकारी संस्थाहरुको माझमा सुभप्रवा सहकारीले बेग्लै पहिचान बनाउन सकेको संस्थाका प्रमुख कार्यकारी अधिकृत फडिन्द्रकुमार खड्काले बताए । सहकारीका अन्तर्राष्ट्रिय मूल्य,मान्यता र सिद्धान्तहरुलाई आत्मसात गर्दै बचत तथा ऋणको कारोबारसँगै सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा संस्थाले विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको उनको भनाई छ । संस्थाले सामाजिक, सांस्कृति एवम् रचनात्मक पक्षमा काम गर्ने व्यक्ति तथा संघ संस्थाहरुसँगको सहकार्यमा आफ्ना गतिविधि सञ्चालन गर्दै संस्थाको क्षमताले भ्याएसम्म आर्थिक सहयोग समेत गर्ने गरेको उनले जानकारी दिए ।

संस्थाले सदस्यहरुलाई सरल र सहज रुपमा वित्तीय सेवा प्रदान गर्ने उदेश्यका साथ मोबाइल बैकिङ्ग, सुभप्रवा डेविड कार्ड तथा शुभप्रवा इस्माट एप्पबाट क्युआर कोडमार्फत् भुक्तानी गर्न सक्ने जस्ता सेवा सञ्चालनमा ल्याएको जनाएको छ । त्यसका साथै संस्थाको वित्तीय कारोबारलाई व्यवस्थित,गुणस्तरीय र समय सापेक्ष सुरक्षित तथा प्रभावकारी बनाउन कलाउड वेस व्याकअप सिष्टममा गएको छ । संस्थाले स्थापना दिवसको अवसरमा सेयर सदस्य, नियामक निकाय तथा सहकारीका छाता संघ संस्थाको सधाझै साथ सहयोगका साथै निरन्तर सहकार्यको अपेक्षा गरेको छ । संस्थाले चालु आर्थिक बर्षको जेठ मसान्तसम्म शेयर पुँजी १० करोड १२ लाख २६ हजार, जेगेडा कोष ४ करोड ७५ लाख ८ हजार, कुल संस्थागत पुँजी ४ करोड ८३ लाख ९८ हजार र विभिन्न कोषमा ८ करोड ९ लाख ६१ हजार पुगेको जनाएको छ । त्यसैगरी संस्थाले त्यस अवधिमा ७६ करोड ६५ लाख ५ हजार बचत संकलन गरी ६० करोड ८० लाख ३५ हजार ऋण लगानी गरेको छ । १ हजार ६०६ जना शेयर सदस्य रहेको संस्थाको कूल सम्पत्ति १ अर्ब ३ करोड ६५ लाख ४५ हजार पुगेको छ । संस्थाबाट ६ सय भन्दा बढी सदस्यहरुले ऋण लिएर व्यापार तथा व्यवसाय गर्दै आएका छन् ।