सर्वसाधारणका लागि खुल्यो विकास हाइड्रोपावरको आईपीओ
काठमाण्डौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरिसकेको थियो। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त कुल ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओमध्ये ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित र ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी असार ५ गते बाँडफाँड भइसकेको छ। त्यसपछि बाँकी रहेको ३१ लाख ९१ हजार ९४५ कित्ता आईपीओमध्ये १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषलाई, ७० हजार ९१० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ। अब सर्वसाधारणका लागि बाँकी २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ निष्कासन गरिएको हो।
यसमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनीले असार २२ गतेसम्म आवेदन दिन सकिने बताएको छ। यद्यपि सो अवधिभित्र मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि असार ३२ गतेसम्म लम्बिन सक्नेछ। हालसम्म देखिएको लगानीकर्ताको चासो र माग हेर्दा असार २२ गतेभित्रै आवेदन पर्याप्त हुने देखिएको छ। आईपीओमा आवेदन दिन प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ। साथै, सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा तथा मेरो शेयरमार्फत् पनि आवेदन दिन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।