‘कुलिङ पिरियड’को घटनाका दोषीलाई कारबाही गर्न माग

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा सङ्घीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

आज बैठकको शून्य समयमा प्रतिनिनिधिसभाबाट पास भई राष्ट्रियसभामा पेस भएको विधेयकमाथि धारणा राख्दै सदस्यहरूले यस्तो माग गरे । सभा सदस्य गङ्गाकुमारी बेल्वासेले कुलिङ पिरियडका विषयमा प्रतिनिधिसभामा घटेको घटनाका विषयमा गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिन् ।

सदस्य गोपीबहादुर सार्की अछामीले सङ्घीय निजामती विधेयकमा कुलिङ पिरियडको विषयमा बेइमानी भएको भन्दै कारबाहीको माग गरे ।

सदस्य मृगेन्द्रसिंह यादवले निजामती विधेयकमा छलछाम गरेर प्रतिवेदन ल्याउनेलाई अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग गरे ।

सदस्य जगप्रसाद शर्माले मनसुनको समय सुरु भइसकेकाले मौसमविद् र विज्ञको चेतावनीअनुसार सम्भावित जोखिमबाट बच्नका लागि तयारीका विषयका बारेमा सरकारको ध्यानाकर्षण गराए ।

सदस्य तारामान स्वाँरले पश्चिम क्षेत्रमा महाभूकम्पको जोखिम रहेकाले आवश्यक पूर्व तयारी गर्न सरकारसँग आग्रह गरे ।

सदस्य डा. बेदुराम भुसालले सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदन हालसम्म पनि नबाँडिएको र किन नबाँडिएको हो भन्नेबारे आशङ्का पैदा भएको बताए ।

सदस्य मायाप्रसाद शर्माले २०८० कात्तिक १७ गते गएको भूकम्पको घाउ नमेटिएकै अवस्थामा मनसुनका कारण भूकम्पपीडितलाई कतिपय स्थानमा समस्या भएकाप्रति सरकारको ध्यानाकर्षण गराए ।

सदस्य सुमित्रा बिसीले सुर्खेत–जुम्ला सडक वर्षात्का कारण बिहीबारको पहिरोका कारण अवरुद्ध भएकाले तत्काल निर्माण गर्न सरकारसँग माग गरिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *