उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षण
लुम्बिनी । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणस्थल निरीक्षण गरेका छन्।
अत्याधुनिक सुविधासहितको १२ तले अस्पताल भवनको हालसम्म २६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। पूर्वाधार विकास प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर छविराज पोखरेलले एक वर्षअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कार्य भइरहेको जानकारी दिए। बेसमेन्ट र क्यान्सर उपचार भवनको ढलान कार्य सकिएको छ भने अन्य संरचनाहरूमा पनि तीव्र गतिमा काम भइरहेको छ। अर्थमन्त्री पौडेलले गुणस्तरमा सम्झौता नगरी समयमै निर्माण पूरा गर्न निर्देशन दिएका छन्। निरीक्षणमा पूर्वमुख्यमन्त्री लीला गिरी, पूर्वस्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठ, नेकपा एमालेका नेता दधीराम न्यौपानेलगायतको उपस्थिति रहेको थियो।
रु ८ अर्ब ९९ करोड लागतमा निर्माण हुँदै गरेको यो भवन पाँच वर्षभित्र (२०८५ पुस २५) सम्पन्न गर्ने लक्ष्य रहेको छ। भारतीय कम्पनी क्याम्पासाइट र नेपाली कम्पनी आशिष कन्स्ट्रक्सन तथा रेलिगेरको संयुक्त ठेकेदार समूहले निर्माणको जिम्मा पाएको हो। अस्पतालमा एक हजार २०० शय्याको उपचार कक्ष, अत्याधुनिक ओपिडी, इमर्जेन्सी सेवा र दुई तलाको पार्किङ रहनेछ।