एआई च्याटबटहरूले चोर्न पाउने छैनन् डिजिटल सामग्री

तपाईंले च्याट जिपिटीजस्ता एआई च्याटबटहरूलाई कुनै प्रश्न सोध्नुभयो भने, तिनीहरूले त्यसको उत्तर दिनका लागि इन्टरनेटमा उपलब्ध जानकारीहरूको सहारा लिन्छन्। केवल च्याट जिपिटी मात्र होइन जेमिनाईदेखि मेटा जस्ता अन्य एआई बटहरू पनि प्रयोगकर्ताका प्रश्नहरूको उत्तर दिनका लागि वेबसाइटमा प्रकाशित सामग्रीहरु माथि निर्भर हुन्छन्। च्याटबटहरुले प्राप्त गर्ने त्यस्ता जानकारीहरू विभिन्न समाचार संस्था, वेबसाइट वा अन्य प्रकाशनहरूले इन्टरनेटमा राखेका हुन्छन्। एआई च्याटबटहरू तत्कालै कुनै पनि सवालको जवाफ दिन सक्नुको कारण चाहीँ ती जानकारीहरू इन्टरनेटमा सजिलै र निःशुल्क रूपमा उपलब्ध हुनाले हो। तर यस प्रक्रियामा च्याटबटलाई सबै सामग्रीहरू उपलब्ध गराउने वेबसाइटहरुले चाहिँ खासै लाभ लिन पाउँदैनन्। उल्टै इन्टरनेट प्रयोगकर्ताले अन्य वेबसाइट खोल्नुको साटो सिधै एआई च्याटबटहरूसँग उत्तर खोज्न थालेपछि ती वेबसाइटहरूमा भिजिटर्स कम हुन थाल्छन्। जसले उनीहरूलाई आर्थिक घाटा पुर्याउँछ। यही कारणले गर्दा पछिल्लो समयमा विश्वभर नै एआई कम्पनीहरूमाथि अरूको सामग्री बिना अनुमति स्क्र्याप गर्ने ९संकलन गर्ने० र कपीराइट नीति उल्लंघन गर्ने गरेको आरोप लागिरहेका छन्। तर अब यस्तो अभ्यास धेरै समयसम्म टिक्ने देखिँदैन । किनभने यो विषयमा चाँडै नै विश्वव्यापी रुपमा कडाइ हुने देखिएको छ। इन्टरनेट पूर्वाधार सेवा प्रदान गर्ने प्रसिद्ध कम्पनी क्लाउडफ्लेयरले त्यसरी वेबसाइटहरुबाट विना अनुमति डेटा संकलन गर्ने आर्टिफिसियल इन्टेलिजेन्स स्क्र्यापर्सलाई स्वतः ब्लक गर्ने निर्णय गरेको छ। यो कदमलाई इन्टरनेटको दुनियाँमा एआई सामग्री सेन्सरसिपको क्षेत्रमा प्रारम्भिक प्रयासको रूपमा हेरिएको छ। योसँगै वेबसाइट धनीहरुले साइटमा भएका आफ्ना सामग्रीमाथि पूर्ण नियन्त्रण राख्न सक्नेछन् र ती डेटालाई एआई च्याटबटले अनधिकृत रुपमा प्रयोग गर्न पाउने छैनन्। क्लाउडफ्लेयरका अनुसार वेबसाइटका सामग्री प्रयोग गर्न अनुमति नलिएका र त्यसको उचित भुक्तानी नदिएका एआई प्लाटफर्मका डोमेनहरूलाई ब्लक गरिनेछ। यसबाट एआई कम्पनीहरूले वेबसाइटको डेटा सजिलै स्क्र्याप गरेर निःशुल्क प्रयोग गर्न पाउने अवस्था अब सकिँदैछ। यस निर्णयलाई विश्वभरिका ठूला मिडिया संस्थाहरूले पनि समर्थन गरेका छन्। यस अभियानमा एसोसिएटेड प्रेस, द एटलान्टिक, बजफिड, कन्डे नास्ट, डीएमजीटी, फर्च्युन, द इन्डिपेन्डेन्ट, स्काई न्यूज र टाइम जस्ता प्रमुख प्रकाशन संस्थाहरूले साथ दिएका छन्। यी सबै मिडिया हाउसहरू आफ्ना सामग्रीको संरक्षण र अनधिकृत प्रयोग रोक्नका लागि क्लाउडफ्लेयरको कदमलाई सकारात्मक रूपमा लिएका छन्। क्लाउडफ्लेयरका अनुसार, अब वेबसाइट धनीले कुन एआई बटलाई आफ्नो वेबसाइटमा रहेको डेटामाथि पहुँच दिने र त्यो डेटा कुन उद्देश्यका लागि प्रयोग गर्ने भन्ने कुरा निर्णय गर्न सक्नेछन्। उदाहरणका लागि, यदि कुनै प्रकाशन संस्थाले ओपनएआईसँग साझेदारी गरेको छ भने, उसले केवल च्याट जिपिटीलाई मात्र आफ्नो साइटका समाग्रीमा पहुँचको अनुमति दिन सक्छ र अन्य सबै च्याटबटहरूलाई ब्लक गर्न सक्छ। अब एआई स्क्र्यापरहरूले डेटा किन संकलन गरिरहेका छन् भनेर स्पष्ट रूपमा बताउनुपर्नेछ। त्यो एआई प्रशिक्षणका लागि हो, प्रत्यक्ष प्रयोगका लागि हो, वा सर्च इन्जिनको कामका लागि हो भनेर खुलाउनुपर्नेछ। क्लाउडफेयरको रिपोर्ट अनुसार गत मे महिनामा ओपन एआईको जिपिटी च्याटबट सबैभन्दा धेरै अनलाइन स्क्र्यापिङ गर्ने एआई बोट बनेको छ, जसको हिस्सा ३० प्रतिशत छ । त्यसपछि Anthropic को ClaudeBot ले २१ प्रतिशत, मेटाको External Agent ले १९, अमेजन बटले ११ र बाइटडान्सको ByteSpider ले ७.२ प्रतिशत अनलाइन स्क्र्यापिङ गरेको देखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *