‘नेपालीका लागि प्रार्थना गर्ने समय भयो’

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् ।

सोमबार निर्मल निवासमा आफ्नो जन्मदिनको अवसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पूर्वराजा शाहले अहिले बाढी, पहिरोको समय रहेको भन्दै यसबाट जोगिएर बस्न समेत आग्रह पनि गरे । साथै, उनले पानीजन्य रोगहरूबाट बच्न आग्रह गरेका छन् ।

‘अहिले वर्षाको समय हो । बाढी पहिरोको जोखिम छ । पानीजन्य बिमारीहरू पनि हुन्छन् । सबै दाजुभाइ, दिदीबहिनीहरू सतर्क रहनुस् । विचार गरेर बस्नुस्, मेरो आग्रह छ,’ शाहले भने । पूर्वराजा शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने भन्दै नेपाल नै आफूभित्र समाहित हुनुपर्ने र त्यसपछि मात्रै नेपालको माया जाग्ने बताए ।

‘यो समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो । हामी नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन, नेपालै हामीभित्र हुनुपर्छ । अनि हामी नेपाली हुन्छौँ,’ उनले भनेका छन् ।

उनले आफूसँगै जन्मदिन पर्ने सबैलाई शुभकामना पनि दिए । पूर्वराजाले भने, ‘आज हाम्रो जस्तै कति जनाको शुभ दिन होला । वहाँहरूलाई मेरो तर्फबाट शुभकामना दिन चाहन्छु ।’ उनले आफ्नो जन्मदिनमा शुभकामना दिन आउनेलाई पनि धन्यवाद दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *