प्रधानमन्त्री पाँच वर्ष टिकाउन विश्वप्रकाशका पाँच विकल्प
काठमाडौं। नेपाली कांग्रेसको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पाँच वर्ष नै टिक्न सक्ने बनाउन संविधान संशोधनका लागि पाँच प्रस्ताव पार्टी बैठकमा राखेका छन् । शर्माको प्रस्ताव अनुसार प्रत्यक्ष तर्फको सिट र लोकप्रिय मतको आधारमा पहिलो बन्ने दलले सरकार गठन गर्ने उल्लेख छ । शर्माका अनुसार उक्त प्रस्तावको आधारमा दोस्रो, तेस्रो या अन्य दल पूरै अवधि सरकार बाहिर विपक्षमा बस्नुपर्ने हुन्छ । बितेको ७५ वर्षमा कुनै पनि प्रधानमन्त्री लगातार ५ वर्ष टिक्न नसकेको हुँदा यो व्यवस्था राख्नुपर्ने उनको तर्क छ । पहिलो दललाई सामान्य बहुमत नपुगेको स्थितिमा ‘विनर्स टेक अल’ (जित्नेले सबै लग्ने) सिद्धान्त बमोजिम निर्वाचन अघि नै आयोगमा बुझाइएको विज्ञहरुको नामबाट अपुग सिट पहिलो दलले प्राप्त गर्ने अर्को प्रस्ताव शर्माको छ । पहिलो दलले संसदीय दलबाट चयन गरेको सांसद संसदीय दलको नेता हुँदै नेपालको प्रधानमन्त्री बन्ने र प्रधानमन्त्रीले मन्त्रिपरिषदमा निश्चित संख्यामा विज्ञहरु सोझै नियुक्त गर्न पाउनुपर्ने शर्माको थप प्रस्ताव छ । ‘त्यसरी बनेको प्रधानमन्त्रीले शपथ ग्रहण गरेको मितिले १० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्छ । दुई वर्ष पुगेपछि त्यसको एक महिनाभित्र पुनः विश्वासको मत लिने,’ शर्माले पार्टी बैठकमा भने,‘पछिल्लो पटक विश्वासको मत लिंदा दुईवर्षे कामको निश्चित आर्थिक, सामाजिक सूचकहरुका आधारमा मात्रै विश्वासको मत पाउने,नपाउने टुंगो लाग्छ । विश्वासको मत पुनः प्राप्त गरेको अवस्थामा प्रधानमन्त्रीले बाँकी अवधि देशको नेतृत्व गर्नेछ ।’ शर्माले प्रधानमन्त्री पदमा कुनै पनि व्यक्ति दुईपटक मात्रै बन्न सक्ने व्यवस्था हुनुपर्ने बताए ।














