कालीगण्डकी वरपर सतर्कता अपनाउन आग्रह
काठमाडौं । मुस्ताङको लोमान्थाङ क्षेत्रमा पनि अहिले बेलुकापख बाढी आएको छ । चीनतर्फबाट उक्त बाढी आएको स्थानीय प्रशासनले जनाएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारका अनुसार बेलुका साढे ५ बजेतिर सेन्जुङ खोलामा बाढी आएको हो । सेन्जुङ खोलामा उच्च बाढी आएको छ । वरपरका क्षेत्रमा सतर्कता अपनाउन सूचित गरिएको छ । यो बाढी साढे ५ बजेतिरबाट आएको हो । अहिले पानीको सतह बढेको छ ।उनका अनुसार बस्तीमा जोखिम देखिएको छैन । कागबेनी, थार, सुसारलगायतका क्षेत्रका स्थानीयलाई सुरक्षित रहन सूचित गरिएको उनले जानकारी गराए ।
सोही क्षेत्रमा रहेका एक प्रहरीले दिएको जानकारीअनुसार कोरला नाकानजिकै रहेको न्याम्दो खोलामा लेदोसहितको बाढी आएको छ । उनले अहिले आफूहरू वरिपरिका बस्तीमा रहेका बासिन्दालाइ सुरक्षित स्थानमा रहन आग्रह गर्दै हिँडेको बताए । लोमान्थाङ गाउँपालिका वडा न. ४ चुङजुङ,न्याम्डोकस्थित छुकार खोलाबाट लेदोसहितको बाढी आएको छ । कोरला नाकाभन्दा माथि ठुलो पहिरो गएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । छुसाङ ,कागबेनी, जोमसोमलगायत कालीगण्डकी किनारका सबै बस्तीलाइ सुरक्षित रहन प्रहरीले अनुरोध गरेको छ ।