मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रको अपेक्षा समेटिएन : नाडा

काठमाडौं । नेपाल अटोमोबाइल्स एशोसिएशन (नाडा) ले आर्थिक वर्ष २०८२।८३ का लागि सार्वजनिक गरिएको मौद्रिक नीताले अटोमोबाइल क्षेत्रको माग र सुझावलाई बेवास्ता गरेको गुनासो गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नाडाले नेपाल राष्ट्र बैंकको मौद्रिक नीति अटोमोबाइल व्यवसायीहरूको न्यूनतम अपेक्षा भन्दा निकै टाढा रहेको जनाएको छ । नाडाका अनुसार सवारीसाधन आयातसँग सम्बन्धित नीतिहरूमा कुनै सहजीकरण गरिएन, लक्जरी, हेवी सेग्मेन्ट र उच्च प्रविधिका सवारीसाधनसम्बन्धी नीति जस्ताको तस्तै राखिएको छ । मौद्रिक नीतिले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्द्धन गर्न खोजेको भए पनि, प्रत्यक्ष कर्जा प्रवाहको प्राथमिकता दिइएको छैन ।

यसलाई ग्रिन फाइनान्सको सन्दर्भमा मात्र उल्लेख गरिएको छ । सवारी ऋण, आयात प्रक्रिया तथा औद्योगिक मान्यतामा उल्लेखनीय सुधार नभएको भन्दै नाडाले मौद्रिक नीतिलाई ‘अनुदार’ भनेको छ । हायर पर्चेज कर्जा दिने कम्पनीहरूको स्वीकृति, सेवा शुल्क, ब्याजदर गणना लगायतका विषयमा भने केही सकारात्मक संकेत देखिएको नाडाले जनाएको छ । नाडाले अटोमोबाइल क्षेत्रलाई प्रोत्साहन गर्ने स्पष्ट रोडम्याप मौद्रिक नीतिमा नरहेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, रोजगारी सिर्जना, विद्युतीय इकोसिस्टम प्रवद्र्धन र औद्योगिकीकरणमा अटोमोबाइल क्षेत्रको योगदान महत्त्वपूर्ण छ । त्यसैले यस क्षेत्रलाई प्राथमिकतामा राखेर नीतिगत सहजीकरण गर्न आवश्यक छ । नाडाले सरकारले अटोमोबाइल क्षेत्रको आर्थिक महत्वलाई गम्भीरतापूर्वक बुझी आवश्यक सहयोग र नीतिगत हस्तक्षेप तत्काल गर्नुपर्ने माग समेत गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *