पूर्व राष्ट्रपति भण्डारी पक्षमा खुलेका युवा संघ लुम्बिनी अध्यक्ष खरेल निलम्बित
काठमाण्डौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बनमा परेका छन् । संघले खरेललाई एक वर्षका लागि निलम्बन गरेको हो । साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ । रुपन्देहीको देवदहका खरेललाई राष्ट्रिय युवा संघ नेपालको विधान २०४७ दशौं राष्ट्रिय महाधिवेशन, २०८२ जेठ ९ ११, पोखरा, कास्कीद्वारा संशोधितको धारा ४१ तथा धारा ४२ (क) र (ख) बमोजिम संगठनका सम्पूर्ण जिम्मेवारीहरूवाट पदमुक्त गर्दै, एक वर्षका लागि संगठनबाट निलम्बन गर्ने निर्णय गरिएको महासचिव रमेश चौलागाईले जारी गरेको पत्रमा उल्लेख छ । संघको पोखरामा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा स्पष्टीकरण सोधिएकोमा खरेलले गैरजिम्मेवार र अराजक जवाफ पठाएको, केन्द्रको निर्देशन अवज्ञा गर्दै प्रदेश कमिटीको सचिवालय बैठक राखेको र स्वेच्छाचारी तथा मनोमानी गतिविधि गरेको आरोप लगाइएको छ । खरेलसँग सोधिएको स्पष्टीकरणमा १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमण्डलका सदस्यहरूमाथि अशिष्ट र अभद्र व्यवहार गरेको, प्रतिनिधिहरूलाई धम्काएको र सामाजिक संजालमा पार्टी नेतृत्वनाई लाञ्छना लगाउने र मानहानी गर्ने लगायतका गतिविधि गरेर पार्टी तथा संगठनको हितमा नकारात्मक असर पारेकोले तीन दिनभित्र भौतिकरुपमा उपस्थित भई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको थियो ।
खरेलले भौतिकरुपमा उपस्थित नभई इमेलमार्फत तीन पेज लामो स्पष्टीकरण दिंदै आफूमाथि लगाइएको सबै आरोप अस्वीकार गरेका थिए । उनले महाधिवेशनमा अध्यक्षमा सुमन पुरीलाई समर्थन गरेको तर, कसैलाई अभद्र व्यवहार नगरेको, सामाजिक संजालमा नेतृत्व परिवर्तनको कुरा उठाउनु अपराध नभएको जवाफ फर्काएका थिए । ‘पार्टीलाई एकताबद्ध र बलियो बनाउन नेतृत्वको विकल्प खोज्नु कुनै अपराध होइन,म अधिवेशनबाट निर्वाचित भएको हुँ,मलाई हटाउन अर्को अधिवेशनले मात्रै सक्छ,’ खरेलले भने, ‘निलम्बनको निर्णय अन्यायपूर्ण र पुर्वाग्रहणप्रेरित छ,म संघमै क्रियाशील रहेर गतिविधि अघि बढाउँछु, आवश्यक परे समानान्तर कमिटी बन्न सक्छ ।’ सुरज देवदह नगरपालिकाका मेयर ध्रुव खरेलका छोरा हुन् । खरेलले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले मार्गप्रशस्त गर्नुपर्ने तर्क गर्दै सम्मानसहित पार्टी नेतृत्व परिवर्तनको कुरा सामाजिक सञ्जालमार्फत् उठाउनुलाई लोकतान्त्रिक अभ्यास भनेका छन् । ‘पार्टीको माया छ, र पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउने आशा अझै बाँकी छ । अब मार्गप्रशस्त तपाईंले गर्नुपर्छ, जनता बोलिरहेका छन्, सुन्नुहोस्’, खरेलले केही हप्ताअघि एमाले अध्यक्ष ओलीसंग खिचेको तस्वीर सहित फेसबुकमा स्टाटस लेखेका थिए ।