पाण्डे तेस्रोपटक लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा नियुक्त
काठमाण्डौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएका छन् । योसँगै उनी लुम्बिनी प्रदेशको तेस्रोपटक मन्त्री बनेका हुन् । आइतबार उनलाई मुख्यमन्त्री चेतनारायण आचार्यले युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पाण्डेलाई मन्त्री नियुक्त गरेको जानकारी आजै इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई गराइसकेको छ । उनी पहिलोपटक २०७८ साउन २७ गते मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा भौतिक पूर्वाधार तथा विकासमन्त्री नियुक्त भएका थिए ।
दोस्रोपटक २०७९ वैशाखमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको नेतृत्वमा उनले गृह मन्त्रालय (आन्तरिक मामिला, कानुन र सहकारी) को जिम्मेवारी सम्हालेका थिए । तीन सांसद रहेको लोसपामा उनी संसदीय दलका नेता थिए । ११ सदस्यीय मन्त्रिमण्डल रहेकोमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री चेतनारायण आचार्यले नै सम्हाल्दै आएका थिए । उनको शपथग्रहण भोलि (सोमबार) दिउँसो ३ बजे हुनेछ । पाण्डेको दल लोसपा प्रदेश सरकारको बजेटमाथि छलफल भइरहेका बेला एकाएक सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा गएको थियो । वर्तमान मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित पाँचजना मन्त्री एमालेबाट, पाँचजना कांग्रेसबाट र जसपाबाट एकजना मन्त्री थिए । पाण्डे रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् ।