बलिवुड फिल्म ‘सैयारा’ को बम्पर कमाई, १० दिनमा २५० करोड
काठमाडौँ । बलिवुड फिल्म ‘सैयारा’ ले बम्पर कमाई गरिरहेको छ । अहान पाण्डेको डेब्यू फिल्म ‘सैयारा’ घरेलु बक्स अफिसमा कमाईको सुनामी ल्याएको छ ।
फिल्म सैयारा घरेलु बक्स अफिसमा रिलिजको १० दिनमा २५० करोड कमाई गरेको छ । फिल्मले भारतीय बक्स अफिसमा २५०.७५ करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । यस अघि फिल्मले रिलिजको पहिलो साता १७५ करोड २५ लाख भारु कमाई गरेको थियो । योसँगै फिल्मले कैयौं रेकर्ड पनि तोडेको छ र फिल्म ठुलो कलेक्सनतर्फ अगाडी बढिरहेको छ । अहिले पनि मल्टीप्लेक्स र सिंगल स्क्रिन दुवैमा दर्शकको अपार भिड रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
यो अभिनेत्री अनित पड्डाको पहिलो फिल्म पनि हो । आदित्य चोपडा र अक्षय विधानीद्वारा निर्मित यस फिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन् । यस फिल्मको पटकथा रोहन शंकर र संकल्प सदानाले लेखेका हुन् । दर्शकहरूले फिल्मको कथा धेरै मन पराएका छन् । फिल्म करिब ६० करोडको बजेटमा बनेको बताइएको छ ।