रास्वपाले आजदेखि खुला आँगन कार्यक्रम प्रारम्भ गर्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि खुला आँगन कार्यक्रम प्रारम्भ गर्दैछ ।
प्रत्यक्ष जनसम्पर्क तथा पार्टी नेतृत्व र नागरिकबीच खुला संवादको संस्कार विकास गर्ने उद्देश्यका साथ रास्वपाले यो कार्यक्रम सुरु गर्न लागेको हो । महामन्त्री कवीन्द्र बुर्लाकोटीले यस कार्यक्रममा पार्टी सदस्य, शुभेच्छुक, आम नागरिक सहभागी भई राष्ट्र निर्माणसँग सम्बन्धित विभिन्न विषयहरूमा छलफल, संवाद हुने जानकारी दिएका छन् ।
रास्वपाका अनुसार अपराह्न ४ देखि ६ बजेसम्म पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा कार्यक्रमको प्रारम्भ हुँदैछ । खुला आँगन कार्यक्रममा पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूले पार्टीका सदस्य शुभचिन्तकहरूसँग भेटघाट गर्ने गरी तालिका तय गरिएको छ ।
आजको कार्यक्रममा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल, पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटी, पार्टी सहमहामन्त्री विपिनकुमार आचार्य, पार्टी सहप्रवक्ता रमेश प्रसाई लगायतका नेताहरू सहभागी हुनेछन् ।