कुमारी बैंकको नेतृत्वमा २१६ मेगावाटको माथिल्लो सेती जलविद्युत आयोजना
काठमाण्डौं । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा निर्माण हुने २१६ मेगावाट क्षमताको माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन औपचारिक रूपमा सम्पन्न भएको छ। कुमारी बैंक लिमिटेडको नेतृत्वमा तथा एनएमबी बैंक लिमिटेडको सह–नेतृत्वमा १४ वटा बैंक तथा वित्तीय संस्थाले आयोजनामा करीब ४१ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने सहमति गरेका छन्। समृद्धि इनर्जी लिमिटेडद्वारा प्रवर्द्धन गरिएको यस आयोजनाको लागि शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहबीच कुमारी बैंक र प्रवर्द्धक कम्पनीबीच सम्झौता सम्पन्न भएको हो। सम्झौतामा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र समृद्धि इनर्जी लिमिटेडका अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका हुन्। आयोजनाको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको आधारमा निर्माण अघि बढाइनेछ। कुल लागत रू. ४१.६ अर्ब अनुमान गरिएको आयोजनाको प्रतिमेगावाट लागत करिब रू. १९.२५ करोड रहेको छ। ४.५ घण्टा पिकिङ क्षमतासहितको यो आयोजना अर्ध जलाशययुक्त प्रणालीमा आधारित हुनेछ। Design Discharge ३४.१ घनमिटर प्रति सेकेन्ड र Net Head ७३५.६ मिटर रहनेछ।
यस आयोजनाबाट वार्षिक १,२२९.६ GWh विद्युत उत्पादन हुने अनुमान गरिएको छ, जसमा पिक एनर्जी १६३.६३ GWh रहनेछ। सुखा याममा प्रतियुनिट दर रू. १०.५५ र नन पिक याममा रू. ८.४० निर्धारण गरिएको छ। प्रस्तावित ३० किमी लामो २२० केभी डबल सर्किट ट्रान्समिशन लाइनमार्फत विद्युत् बझाङ ४०० केभी सबस्टेसन हुँदै राष्ट्रिय ग्रिडमा जोडिनेछ। परियोजना २०८८ असार ३१ गतेभित्र व्यावसायिक उत्पादनमा ल्याउने लक्ष्यसहित अघि बढाइएको छ। समृद्धि इनर्जी लिमिटेडले आवश्यक ३० प्रतिशत स्वपुँजी विभिन्न संस्थागत र व्यक्तिगत लगानीकर्तामार्फत संकलन गरिरहेको छ। प्रमुख लगानीकर्तामा Siuri Nyadi, Ngadi Group, Sagarmatha Jalbidhyut, Mai Khola Hydropower, Yesh Holding लगायतका कम्पनी तथा अनुभवी व्यवसायीहरू छन्। स्थानीय पूर्वाधार, रोजगारी, ऊर्जा आत्मनिर्भरता र सुदूरपश्चिमको समग्र विकासमा योगदान पुर्याउने अपेक्षासहित माथिल्लो सेती आयोजनालाई नेपालको जलविद्युत क्षेत्रको अर्को महत्वपूर्ण फड्कोका रूपमा लिइएको छ।















