साहस ऊर्जाको नाफा ११५ प्रतिशत
काठमाडौं । कर्जाको ब्याजदर घटेसँगै वित्तीय लागत घट्दा साहस ऊर्जाको नाफामा उल्लेख्य वृद्धि भएको छ । निजी क्षेत्रले प्रवर्द्धन गरी ८६ मेगावाटको सोलुखोला (दुधकोसी) जलविद्युत सञ्चालनमा ल्याएको कम्पनीले गत आर्थिक ९० करोड २३ लाख २७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ४२ करोड ३ लाख ५८ हजार नाफा कमाएको कम्पनीको गत आर्थिक वर्षमा नाफा ११४.६६ प्रतिशतले बढेको हो । साहस ऊर्जाले हालै मात्र बुढीगण्डकी हाइड्रोपावरको लाइसेन्स लिएको टाइम्स इनर्जीको स्वामित्व खरीद गरी आयोजनाको लागि वित्तीय व्यवस्थापन गरी सम्झौता समेत गरीरहेको छ । कुल ७० अर्ब लागत रहेको उक्त आयोजनामा साढे ५२ अर्ब ऋणको लागि ‘फाइनान्सियल क्लोजर’ सम्झौत भइसकेको छ ।
टाइम्स इनर्जीमा साहस ऊर्जाको ५१ प्रतिशत सेयर छ । साहस ऊर्जाको अघिल्लो आर्थिक वर्षको तुलनामा विद्युत बिक्री आम्दानीमा वृद्धि र वित्तीय लागतमा कमी आउँदा नाफामा उल्लेख्य वृद्धि भएको हो । कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो वर्षको तुलनामा ८.२० प्रतिशतले बढेर २ अर्ब ६४ करोड ८१ लाख ६६ हजार पुगेको छ । कम्पनीको प्रत्यक्ष खर्च र परियोजनाको एमोर्टाइजेसन खर्च पछिको कुल आम्दानी १ अर्ब ८२ करोड ९६ लाख पुगेको छ । ब्याजदर घटेसँगै कम्पनीको वित्तीय लागत १ अर्ब १६ करोड ५३ लाख रुपैयाँबाट घटेर ८० करोड ५९ लाख २ हजारमा सीमित भएको छ । जसले गर्दा कम्पनीको नाफा पनि उल्लेख्य बढाएको हो । अघिल्लो आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्दा कम्पनीको ३ अर्ब ५० करोड रुपैयाँबाट बढेर ३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । ८ प्रतिशतले चुक्ता पूँजी बढे पनि कम्पनीको नाफा शत प्रतिशतभन्दा धेरैले वृद्धि हुँदा प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २६.८० गुणा छ । कम्पनीको जगेडाकोष तथा सञ्चित नाफा ३ अर्ब १६ करोड ९६ लाख ५० हजार रुपैयाँ छ ।